हानले चीनको चेन्दुमा गर्यो नेपाल प्रवद्र्धन कार्यक्रम

Advertisement

काठमाडौँ । नेपाल होटल संघ(हान)ले भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुुलुक चीनको चेन्दुमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा डिसेम्बर १६-२० जिनजियाङ होटलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

डिसेम्बर १८ मा आयोजित एक कार्यक्रमका अवसरमा संघका द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले स्वागत मन्तव्यका क्रममा होटल संघ नेपालको निमन्त्रणामा आएका राजदूत लिलामणी पौडेल, चेन्दुस्थित लेसान नगरपालिकाका उपमेयर लियो के क्वान र टूर अपेटर तथा मिडियाकर्मीलाई स्वागत गर्दै नेपालको पर्यटनको बारेमा चर्चा गरे ।

संघकी अध्यक्ष सृजना राणाले छिमेकी मुलुकमा आयोजना गरिएको यस कार्यक्रमले दुई देशबीचको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । अध्यक्ष राणाले नेपालको होटलको इतिहासका बारेमा भिडियो प्रस्तुत गर्दै समग्र नेपाली पर्यटनको बारेमा चर्चा गरे । उनले नेपाल भ्रमण वर्षको समिति सदस्यको हैसियतले नेपालको पर्यटनको बारेमा प्रस्तुतिकरण गर्दै भ्रमण वर्षभरि खाना र बसोबासको लागि आकर्षक छुट दिएको पनि बताइन् ।

प्रमुख अतिथि राजदूत पौडेलले नेपाल भ्रमणका अवसरमा आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए । बिटुबी बैठकमा चेन्दुस्थित करिब १२० जना टुर अपरेटरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरे ।

कार्यक्रमका विशेष अतिथि लेसान नगरपालिकाका उपमेयर लियो के क्वानले चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा आकर्षण रहेको बताउँदै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि पहल गर्ने आश्वासन दिए । उनले होटल संघ नेपालबाट आयोजना गरिएको यस कार्यक्रमले अझ चिनियाँ पर्यटकहरुको नेपाल प्रति बढ्दो आकर्षण रहेको बताउँदै दुई देशीय पर्यटन प्रवद्र्धन सम्बन्धी सक्दो सहयोग गर्ने बताए ।

संघका महासचिव साजन शाक्यले प्रमुख अतिथि राजदूत पौडेल, विशेष अतिथि लेसान नगरपालिकाका उपमेयर लियो के क्वान, समग्र टुर अपरेटर तथा चेन्दुका मिडियाकर्मीहरुलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गर्दै नेपाल पर्यटन वर्षको संघारमा रहेको हुँदा चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न होटल संघ नेपाल आतुर रहेको बताउँदै टुर अपरेटरहरुलाई नेपाल पर्यटनका लागि प्रमुख गन्तव्यको सूचीमा रहेको जानकारी गराउँदै नेपाल भ्रमण गर्नका लागि आग्रह गरे ।

नेपाली प्रतिनिधिमण्डलको सम्मानमा ट्रिका साँग इन्टरनेसनल होटलले राजकीय रात्रीभोजको आयोजना गरेको थियो । संघकी अध्यक्ष राणाले प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरिन् । सोही अवसरमा संघको अर्धवार्षिक साधारणसभा पनि सम्पन्न गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement