दिगो पर्यटन विकासको पूर्वशर्त अध्ययन अनुसन्धान हो, त्यो नै कमजोर भयो

Advertisement

नेपाल पर्यटन बोर्डको खास काम भनेको खासगरी विदेशी पर्यटकलाई आकर्षण गर्नका लागि प्रोडक्टहरु विकास गर्ने भनेर स्थापना गरिएको संस्था हो । काठमाडौंमा हेर्ने हो भने यही स्वयम्भू, बौद्धनाथ, पशुपतिनाथ, कृष्णमन्दिरलगायतका केही ठाउँबाहेक घुम्ने ठाउँ धेरै छैन् । तर हाम्रो अपेक्षा पर्यटक कम्तिमा एक महिना बसिदियोस भन्ने हुन्छ । अहिले बस्ने सरदर १३ दिन हो । धेरै दिन बस्ने इच्छा जगाउनका लागि त हेर्ने कुरा पनि चाहियो । बाहिर निस्कियो भने प्रदुषण छ । ट्राफिक जाम छ । बाटो कच्ची छ । यसका बीच पनि आएका पर्यटकहरुलाई घुमाउन लैजाँदा एकै छिनमा हेर्ने चिज सकिन्छ । उनीहरुलाई भुलाउन त जसरी नगरकोट, चन्द्रागिरि जस्ता ठाउँको विकास गर्न लागिएको छ, त्यस्ता दर्जनौं ठाउँहरुको आवश्यकता छ । यसरी बनाइएका प्रोडक्टहरुलाई पनि बाह्य बजारमा लगेर बेच्न समय लाग्छ । त्यो भएकोले पर्यटन बोर्डमा जाने व्यक्तिले नेपालको पर्यटनलाई कत्तिको बुझेको छ ? भन्ने प्रश्न उठछ ।

भ्रमण बर्षमा के छ नयाँ कुरा ?
अहिले पर्यटन क्षेत्रमा भइरहेको काम हतार र अव्यवस्थित ढंगको छ । हामी नेपाल भ्रमण बर्ष २०२० मुखैमा छौं । यो पनि आवश्यक पूर्वाधारको तयारीबिना नै भइरहेको छ । भ्रमण बर्ष मनाउने हो भने त नयाँ कुराहरु बेलैमा बजारमा ल्याईसकिएको हुनुपर्ने थियो । त्यसलाई अन्तर्राष्ट्रिय बजारमा चिनाइसकेको हुनुपर्ने थियो । अब अन्तिम समयमा ल्याएर अर्थ छैन् । बर्षौं अघिदेखि तयारी गरेर अध्ययन अनुसन्धान गरेर त्यसका आधारमा भ्रमण बर्ष आयोजना गर्ने संघारमा आज हामी हुनुपर्ने थियो । सन् १९९८ को भ्रमण बर्षमा ‘वान्स इज नट इनफ’ भनेका थियौँ । प्राकृतिकरुपमा सुन्दर नेपाल एक पटक आएर पुग्दैन, पटक पटक आउनुपर्ने रैछ भन्ने सन्देश पर्यटकहरुलाई दिन सकियो भने त्यो अर्थपूर्ण हुन्छ भनेर त्यो नारा दिइएको हो । अहिले फरक नारा दिइएको छ । एक पटक घुमिसकेको ठाउँमा मानिस आउन खोज्दैन् । त्यो भएकोले नारा लिएर बजारमा जाँदा पर्यटकहरुमा ‘नेपाल पहिलाजस्तो छैन, नयाँ कुराहरु आईसककेको छ’भनेर प्रभाव पार्न सक्नुपर्छ । यसका लागि नेपालमा पर्यटन पूर्वाधारहरु खडा गर्न बर्षौं अघिदेखि योजना बनाएर काम गर्नुपर्छ । त्यो कुरा खासै हुन सकेको छैन् । नयाँ प्रोडक्ट बनाएको बारेमा लेख्ने, देखाउने हो ताकी अन्तर्राष्ट्रिय बजारमा त्यो हेरेर वा पढेर उनीहरु आकर्षित होउन् । प्रभावित होउन् । नेपाल आउन । त्यसका आधारमा पर्यटन वर्ष मनाउने हो । अरु बर्ष र पर्यटन विशेष बर्षमा फरक त हुनुपर्यो । सँगसँगै सरकारले पनि सडक, पदमार्ग, विमानस्थल जस्ता भौतिक संरचनाहरु निर्माणमा ध्यान दिनुपर्यो, निजी क्षेत्रलाई उपयुक्त ठाउँहरुमा होटल, रिसोर्ट, अरु मनोरञ्जनस्थलहरु खोल्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्यो ।

पर्यटकलाई कसरी धेरै दिन बसाउने ?
भ्रमण बर्ष २०२० मनाउने तयारी गरिरहँदा केही पनि काम भएको छैन् भन्ने मेरो उद्देश्य होइन् । जति गरिएको छ, त्यसको परिणाम कस्तो आउँछ ? हेर्न बाँकी छ । सायद राम्रै आउला । मेरो भनाई के हो ? भने नेपालमा पर्यटन प्रवद्र्धनको काम १९५० बाट सुरु भयो । यो बीचमा हामीले कति गन्तव्यको विकास गर्यौं ? अहिले पनि हामीले खास बेच्ने भनेको काठमाडौं, पोखरा र चितवन हो । पछि थपिएको भनेको लुम्बिनी हो । घुम्ने ठाउँ धेरै नहुँदा पर्यटकहरुमा कस्तो प्रवृत्ति देखिएको छ भने आजै चितवन, लुम्बिनी घुमेर बेलुकी पोखरा पुग्ने । धेरै दिन बस्ने र धेरै खर्च गर्ने बाताबरण नै हामीले विकास गर्न सकेको छैन् । कस्तो हुनुपथ्र्यो भने काठमाडौंमा २–३ दिन घुमेर थाकेपछि पोखरा जाओस् । त्यहाँ एक साता बिताएपछि चितवनमा हात्ति चढ्न पुगोस् । त्यहाँ २–३ दिन थारु संस्कृतिमा रमाएपछि लुम्बिनी पुगोस् । लुम्बिनीमा शान्तिको गुन्जनसँगै ५–७ दिन आनन्द लियोस् । विभिन्न देशका बौद्ध, गुम्बा र उनीहरुका संस्कृतिहरु हेरोस् । त्यो हुनुपर्ने हो । हिमाली पदयात्रामा जान चाहने, माउन्टेन फ्लाइट हेर्न चाहनेलाई त्यहीअनुसारको छिटो छरितो सुविधा होस् । उपयुक्त ठाउँहरुमो होटल र रेष्टुरेन्टहरुको विकास गरियोस् । ताकी कुनै पनि पर्यटक नेपाल आइसकेपछि एक महिना बसोस् ।

प्रोडक्ट बनाउन नजान्दा समस्या
लुम्बिनीको कुरा गर्दा त्यो क्षेत्र यति धेरै ठूलो छ, तर पर्यटक भुलाउने खास कुरा केही छैन् । कित्ताकाट गरेर सिंगापुर, मलेसिया, श्रीलंका, इन्डोनेशिया, चीन भनेर बाँडेको छ । सबै देशले बुद्धसँग सम्वन्धित एउटै खालको संरचनाहरु बनाएको छ । भित्र उस्तै बुद्धका मुर्तिहरु छन् । बुद्ध जन्मेको ऐतिहासिक ठाउँमा त पर्यटकहरुलाई २–४ दिन राखेर मेडिटेशन गराउने, प्रवचन दिने जस्ता क्रियाकलाप हुनुपर्ने हो । जस्तो विपाश्नामा मानिस गएर हप्तादेखि महिनासम्म बसिरहेको हुन्छ । लुम्बिनीमा त्यो किन हुन सकेन ? भने हाम्रो प्रोडक्ट बनाउन नजानेर हो । हामीसँग अमूल्य वस्तु छ । तर बिक्री गर्न जानेको छैन् । यसको कारण के हो भने पर्यटन क्षेत्रमा अनुसन्धान नै हुन नसक्नु हो । बजेट केमा खर्च गर्ने ? यसको दिर्घकालिन प्रभाव के हुन्छ ? भन्ने कुराको विचार नै नगर्ने प्रवृत्ति नेपालको पर्यटन क्षेत्रमा छ ।

यस्तो नहोस् भन्नका लागि पर्यटन क्षेत्रका विज्ञहरु छलफलमा बस्नुपर्यो । बसेपछि हाम्रा हरेक पर्यटकीय संभावनाका क्षेत्रबाट के कुरा कसरी बेच्ने हो ? त्यो कुराको पहिचान हुनुपर्यो । लुम्बिनी पुगेर त्यही एउटा पाइला हेरेर फर्किने शैलीमा सुधार नगर्ने हो भने कसरी हाम्रो पर्यटन क्षेत्र विकास हुन्छ ? कसरी पर्यटक आगमन बढाउन सकिन्छ ? रामदेवले हरिद्धारमा जुन आश्रम खोले, त्यहाँ नेपालबाट मात्रै बर्षेनी बिसौं हजार मानिस गइरहेका छिन् । किन जान्छन् ? हामीले विचार विमर्श गर्नुपर्दैन ? करोडौं बुद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीमा किन पर्यटक बढ्न सक्दैनन् ? समीक्षा गरौं । हाम्रो नेतृत्व, हाम्रो कार्यशैली, हाम्रो नीति तथा कार्यक्रममा समस्या छ भन्ने तथ्य देखिएकाले सुधारको लागि सम्वन्धित पक्ष पनि तयार हुनुपर्छ । कोही थकित छ । आरामको खोजीमा छ । शान्तिको खोजीमा छ भने उसको लागि सबैभन्दा उपयुक्त ठाउँ लुम्बिनी हुनुपर्यो । यहाँ लुम्बिनी वा बुद्ध धर्मलाई एउटा उदाहरणको रुपमा मात्रै प्रस्तुत गरिएको हो । यस्ता हाम्रा थुप्रै क्षेत्रहरु छन् । हाम्रो प्रकृति, हाम्रो संस्कृति, हाम्रो हिमाल, हाम्रा धार्मिक स्थल, हाम्रा वनजंगल, जनावर, चराचुरुङगी जस्ता धेरै उदाहरण छन् ।

पर्यटकलाई काठमाडौंमा केन्द्रित नगरौं
पर्यटक ल्याउन धेरै होटल खोलेर मात्रै हुने कुरा होइन् । पहिला पर्यटकलाई आउँ आउँ, बसौं बसौं लाग्ने बाताबरण बनाउनु जरुरी छ । दोस्रो कुरा हामीले सबै पर्यटकलाई काठमाडौंमै झार्ने, काठमाडौंमै घुमाउन खोज्ने शैलीमा पनि सुधार जरुरी छ । काठमाडौंमा होटलको खाँचो छैन् । पर्याप्त छन् । नयाँ गन्तव्यहरु विकास गर्दै त्यहाँ सुविधासम्पन्न होटलहरु खोल्नु जरुरी छ । सँगसँगै कुनै जिल्ला गएर काठमाडौं आउँदा कहिले एक डेढ घण्टासम्म आकाशमा घुम्नुपर्ने बाध्यता छ । यसले पर्यटकमा तनाव मात्रै थप्दैन, समय पनि खेर जान्छ । नकारात्मक प्रभाव पर्छ । अहिले नै आन्तरिक र बाह्य पर्यटकलाई धान्न नसक्ने काठमाडौं विमानस्थल छ भने भोलि २० लाख पर्यटक ल्याउने क्रममा के होला ? हाम्रो जलमार्ग छैन् । स्थलमार्गबाट ठूलो संख्यामा पर्यटक आउँदैनन् । आउने हवाईमार्गबाटै हो भने भ्रमण बर्ष मनाउँदै गर्दा खोई अरु अन्तर्राष्ट्रिय विमानस्थल ?

त्यसको विकल्पमा के गर्न सकिन्छ भने जस्तो लुक्लामा दिनमै ६३ वटासम्म ट्वीनअटरहरुले उडान गर्नुको सट्टा एटीआर उडान सकियो भने १२ वटा उडान गरे पुग्छ । अर्को हिमाली क्षेत्रका पर्यटकीय उडानहरु पोखरा वा तराईका विमानस्थलहरुबाट गर्न सकियो भने पनि काठमाडौंलाई भार कम हुन्छ । प्राथमिकता हेरेर काठमाडौंबाट थोरै उडानहरु गर्न सकिन्छ । त्यो भयो भने जिल्लाका होटलहरु चल्छन् । सुदूरपश्चिमले पर्यटक विकास गर्न खोजिरहेको छ । त्यहाँ पनि दुई वटा ठूला विमानस्थल छन् । त्यस क्षेत्रबाट पनि उडानहरु गर्ने, पदयात्राको विकास गर्ने, साहसिक पर्यटनको विकास गर्न प्रेरित गर्ने काम गरिदियो भने सुदूर पश्चिमको पनि विकास हुन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पर्यटक घुमाउने कुरा गरिन्छ । तर त्यहाँ पर्यटकीय कुरा केही देखिन्न् । लुक्ला जान बिहानै साढे ५ बजे त्रिभुवन विमानस्थलमा बोलाइन्छ । तर पालो कतिखेर आउने हो ? उडान कतिखेर रद्द हुने हो ? थाहा हुन्न । जहाज गयो भने कहिले काहीं दिउसोको १ बजेसम्म कुर्नुपर्ने हुन्छ । त्यसमाथि १५–२० वटा हेलिकप्टरको आवाजले लुक्ला बस्नै नहुने भइसकेको छ । पर्यटक शान्तसँग पदयात्रा गर्ने, हिमाल हेर्ने भनेर गएका हुन्छन् । तर त्यही मार्गमा गधाको भीड, माथि रेस्कु गर्ने भन्दै दौडिने हेलिकप्टरको आवाजले पर्यटकलाई शान्तिको महशुस नै हुँदैन् । शहरको कोलाहलबाट मुक्त भएर आनन्दले पदयात्रा गर्न गएको पर्यटकलाई त्यो महशुस गराउनै सकिएको छैन् । हिमाली क्षेत्रमा जम्मा भएको फोहोरलाई कम गर्न सकिएको छैन् । पर्याप्त स्तरीय होटलहरु अझै खुल्न सकेका छैनन् ।

निजगढ बनेपछि ५० लाखको लक्ष्य राख्दा पनि हुन्छ
अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला पूर्वाधार निर्माणको कुरा अर्को महत्वपूण कुरा हो । यतिबेला पोखरा र भैरहवाको गौतमबुद्ध विमानस्थलको निर्माणकार्य सकिनु पर्ने थियो । यसमा कुनै एउटालाई दोष दिने ठाउँ पनि छैन् । कम्तिमा पनि काठमाडौंले पुग्दैन् भन्ने महशुस गरेर दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइएको होला । निजगढ पनि बन्ने चर्चामा छ । यो सकारात्मक नै हो । हुन त निजगढ विमानस्थलको विरोध भइरहेको छ बाताबरणको विषयलाई लिएर । विकासको काममा विरोध हुने कुरा नेपालमा नौलो होइन् । तर, निजगढ जस्तो विमानस्थल अति नै आवश्यक भइसकेको छ । त्यहाँ जति रुख काटिन्छ, त्यति नै अर्को ठाउँमा रोप्न सकिन्छ । हाम्रोमा काट्ने तर नरोप्ने प्रवृत्ति पनि छ । हामीले वनको सही उपयोग पनि गर्न सकेका छैनौं । हिजोका दिनमा भारतले काटेर लगेर आफ्नो मुलुकभरी रेलको सञ्जाल बनायो । हामीले अहिले प्रयोग गर्न नसक्दा रुखहरु सडेर गएका छन् । व्यवसायिकरुपमा प्रयोग गर्न सके मात्रै वन नेपालको धन हुन्छ । निजगढ विमानस्थल पनि बन्यो भने काठमाडौंको एयरपोर्ट आन्तरिक उडानका लागि मात्रै प्रयोग गर्दा पनि हुन्छ । त्यसपछि भने नेपालमा ५० लाख पर्यटक भित्राउने लक्ष्य राख्दा पनि हुन्छ । निजगढबाट काठमाडौं आउन एक घण्टाको समय मात्रै हो फाष्ट ट्राक बनेपछि । निजगढ, भैरहवा र पोखरा विमानस्थल बनेपछि काठमाडौंको लोड पनि निकै कम हुन्छ । विरोधको कुरा गर्दा निजगढमा मात्रै होइन्, हिजो पोखरा र भैरहवा विमानस्थल बनाउने कुरामा पनि विरोध भएका हुन् । विकासमा विरोध गर्ने प्रवृत्ति हाम्रोमा नयाँ होइन् ।

हुन त अहिले रेडलाइट एरिया बनाउने कुरा पनि आएका छन् । यो कुरा कति ठिक हो होइन् ? यसले समाजमा पार्ने प्रभाव के हुन्छ ? यो कुराको अध्ययन गरिएको छैन् । नेपालले बेच्ने पहिलो कुरा भनेको यहाँको प्राकृतिक सौन्दर्य नै हो । दोस्रो साँस्कृतिक विविधता हो । तेस्रोमा हामीले बेच्न सक्ने हो भने जंगली जनाबर, चराचुरुङ्गी हो । नेपाल विश्वकै एउटा ‘लिभिङ ल्याबोरोटरी’ पनि हो । तराईबाट हिमालतर्फ जाँदा धेरै कुराहरु परिवर्तन हुन्छ । मानिसको रहनसहन र संस्कृतिमा परिर्वतन हुन्छ । वनस्पतीमा परिर्वतन हुन्छ । ढुँगा, मोटोदेखि चराचुरुङ्गी परिवर्तन हुन्छ । मानिसको संस्कति र भेषभुषा परिवर्तन हुन्छ । यो विविधता देखाउन त्यही अनुसारको प्याकेज बनाउनुपर्ने हुन्छ । ‘कम एण्ड सि द डाइभर्सिटी इन टेन डेज’ जस्तो नाराहरु बनाएर प्याकेज बनाउन सकिन्छ । प्लेनमा पर्यटकलाई लुक्ला उडाएर शेर्पा देखाउँदैमा वा पोखरा लगेर थकाली देखाउँदैमा नेपालको पर्यटक विकास हुन्छ भन्ने सोचाईमा परिर्वतन चाहिएको छ ।

ट्रेकिङ रुट मास्नु गलत
हामीले एउटा कुरा के विचार गर्नुपर्छ भने पर्यटकहरु नेपालमा घुम्न आउने भनेको राम्रो घरमा बस्न नपाएर वा धेरै विकास भएको ठाउँ देख्न नपाएर आएको होइन् । हामीले चेपाङ गाउँमा उनीहरुलाई सुताउन सकिन्छ । महंगा आधुनिक बियर होइ्न, कोदोको रक्सी चखाउन सकिन्छ । ढिँडो र साग खुवाउन सकिन्छ । यस्ता चिज हाम्रा गाउँमा सजिलै पाइन्छ भन्दैमा उनीहरुलाई सित्तिमै खुवाउने भनेको होइन् । उचित मूल्य लिनुपर्छ । अर्को कुरा हाम्रा पैदल मार्गहरु बिगारेर कच्ची सडक बनाउने र पर्यटकहरुलाई जोखिमपूर्ण तरिकाले गाडिमा डुलाउने वा डेलिकप्टरबाट सिधै पुर्याउने कुराको पक्षपाती होइन् । नेपालमा आएका पर्यटकहरुको प्रतिफल गाडि र हेलिकप्टरका साहुलाई होइन, स्थानीय जनतालाई जानुपर्छ भन्ने मेरो मान्यता हो । त्यसले मात्रै पर्यटन प्रवद्र्धनमार्फत जनताले लाभ लिन सक्छन् । नेपालमा पर्यटकलाई आकर्षित गर्ने, उनीहरुलाई धेरै दिन नेपालमा राख्ने हो भने ट्रेकिङ ट्रेललाई बिगार्ने होइन, यसलाई बढाउनुपर्छ । अन्नपूर्ण सर्किट भनेर ट्रेकिङ रुट बनाइएको थियो । त्यो रुटमा पर्यटकहरु ट्रेकिङमा जाँदा कुनै समस्या थिएन् । २२–२५ दिन हिँड्दै रमाउने । तर अहिले माथिसम्म बाटो बनाइदियो । त्यसको महत्व नै हराउँदै गयो । बाटो भएपछि मानिसले हिँड्न नै खोज्दैन् । यदि हिँड्दै गयो भने एउटा गाडि आएर धुलो उडाएर जान्छ । हिँडेको मज्जा नै हुँदैन् । गाडि चलेपछि बीच होटल र लज चलाउनेहरु सुकेका छन् । पर्यटक आउँछन् भनेर उनीहरुले गरेको लगानी र मेहनत खेर गएको छ । त्यो भएकोले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न पनि जोखिमपूर्ण छ । यो भनेको पर्यटन क्षेत्रको दिगो विकास होइन् ।

एकातिर पर्यटन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ भने अर्कोतर्फ पर्यटन के हो ? त्यो नै हामीले बुझ्न सकेनौं । हामी भारतको कुनै ठाउँमा घुम्न गयौं भने ‘यो नेपाली रहेछ’ भनेर कसैले सस्तोमा दिँदैन् । अनि न पर्यटन क्षेत्रबाट अर्थतन्त्रमा योगदान पुग्दछ । हामीले पर्यटन भित्रायौं । तर उनीहरुसँग पैसा लिन समेत जानेका छैनौं । पर्यटकले खाएको कुराका लागि मात्रै होइन्, उसले गरेको दिसा वा अरु फोहोर सफा गर्न पनि त पैसा चाहियो । सगरमाथामा हरेक बर्ष तीन–चार सय चढ्न जान्छन् । उसले फालेको फोहोर उडाउन सरकारले खर्च गर्नुपर्ने बाध्यता छ । उनीहरुसँग जम्मा तीन सय डलर लिन्छ । त्यो पनि डिपोजिटको रुपमा ।

‘फेक रेस्क्यु’ले छबी बिगार्यो
‘फेक रेस्क्यु’को कुरा कसरी आयो भने पर्यटन क्षेत्रबाट छिटो र नचाहिँदो फाइदा लिन खोज्दा हो । बजारमा नचाहिँदो काम गरेर पैसा कमाउने ग्रुप छ । यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको छबी साह्रै बिगारेको छ । यसले स्वच्छरुपमा काम गर्नेहरुलाई समेत समस्या भइरहेको छ । दश बर्षअघि यति धेरै हेलिकप्टर थिएनन् । सबै मानिस हिंडेर जान्थे । हिँडेर फर्किन्थे । अहिले सगरमाथाबाट ओर्लिएर क्याम्प २ मा आइसकेपछि छ हजार डलर तिर्यो । सोझै लुक्ला आयो । यसले हेलिकप्टरको बाहेक अरु धेरै बिजनेश हामीले गुमाएका छौं । लजहरु नोक्सान भएको छ । भरिया र गाइडहरुलाई नोक्सान भएको छ । गुम्बाहरुमा गएर सहयोग गर्थे । त्यो रोकिएको छ । फेक रेस्क्युको नाममा उद्दार गरिएको पर्यटकलाई यदि गलत ढंगले रेस्क्यु गरिएको रहेछ भन्ने मेडिकल टेष्टबाट पुष्टी हुन्छ भने संलग्न सबैलाई कारवाही गर्नुपर्छ । यसरी नै पैसा कमाउने र विदेशमा बैंक खाता खोलेर जम्मा गर्ने प्रवृत्ति बढिसकेको छ । कर तिर्न खोज्दैन् । चिनियाँहरु आएर विच्याटमा पेमेन्ट गर्दोरहेछ । यसले त राज्यलाई पनि नोक्सान भयो ।

Advertisement

Advertisement

Advertisement