उड्डयन प्राधिकरण टुक्राउने तयारीको विरोधमा कर्मचारीहरु, कँडेल भन्छन्– टुक्राउनैपर्छ

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने उद्देश्यसहित विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै प्राधिकरणका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । प्राधिकरणअन्तर्गतको आधिकारिक युनियनले बुधबार कार्यक्रम गरी संस्था टुक्राउने उद्देश्यसहित विधेयक अघि बढाएको भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हु्न ।

भ्रमण बर्ष २०२० को मुखमा युनियनले आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । विधेयकमा प्राधिकरण टुक्राउने बुँदा नहटाएसम्म चरणबद्ध आन्दोलन गर्दै जाने भन्दै आधिकारिक युनियनका श्रवणकुमार यादवले कालोपट्टी बाँध्नेदेखि नेपालका सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्ने बताए ।

हवाई माफियाको डिजाइनमा प्राधिकरण टुक्राउन लागिएको आरोप लगाउँदै उनले नयाँ बन्दै गरेका अन्तर्राष्ट्रिय विमानस्थलहरु निजीकरण गर्न यशो गरिएको दावी गरे । प्राधिकरण नटुक्राएसम्म यरोपेली यूनियनले नेपाललाई कालोसूची राख्ने र नेपाली विमास्थल कब्जा गर्ने योजना रहेको यादवको तर्क छ ।

युनियले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्राधिकरण विभाजन गरी नेपालको हवाई उद्योग यूरोपेली यूनियनलाई सुम्पेर स्वदेशी पूँजी विदेशीकरण गरी नागरिक उड्डयन क्षेत्रलाई धराशायी बनाउन लागेको छ ।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले प्राधिकरण टुक्रयाउने प्रक्रियाका लागि ५५ लाख २० हजार (४८ हजार अमेरिकी डलर) सहयोग गर्ने प्रतिवद्धता जनाएको प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले बताउँदै आएका छन् ।

आइकाओले प्राधिकरण टुक्राउन अन्य प्राविधिक सहयोग पनि उपलब्ध गराउने बताएको उनले जानकारी दिएका छन् । आइकाओले सन् २००९ देखि उड्डयन प्राधिकरणबाट हुँदै आएको सेवा प्रदायक र निगमको काम अलगअलग गर्न सुझाव दिँदै आएको थियो । ईयूले पनि प्राधिकरणको सेवा प्रदायक र नियमनको काम अलगअलग संस्थाबाट गर्न सुझाव दिएको थियो । सहयोगका सम्बन्धमा प्राधिकरण र आइकाओबीच गत सेप्टेम्बर २६ मा सहमति भइसकेको छ ।

टुक्राउनैपर्छः कँडेल
उड्डयन क्षेत्रका जानकार ई. दिपेन्द्र कँडेलले नेपालको उड्डयन क्षेत्र सुधार गर्ने र नेपाललाई युरोपियन युनियनको कालोसुचीबाट मुक्त गर्ने हो भने प्राधिकरणलाई टुक्राउनुको विकल्प नरहेको बताउँछन् । उनले उड्डयन क्षेत्र प्राविधिक भएकोले प्रशासनका मानिसहरुले चलाएर हुँदैन भन्दै सम्वन्धित् क्षेत्रका प्राविधिकहरुबाटै उड्डयन क्षेत्र चल्नुपर्ने बताए ।

प्राधिकरण नटुक्राउने र उड्डयन क्षेत्रलाई सुधार गरेर ईयूको कालोसुचीबाट नेपालका विमान सेवाहरुलाई मुक्त नगर्ने हो भने भ्रमण बर्ष पनि सफल हुन गाह्रो छ भन्दै कँडेलले आफूले भनेको कुरा सबैलाई अहिले तितो लागे पनि पछि सही रहेछ भन्ने महशुस हुने बताए ।

Advertisement

Advertisement

Advertisement