आर्थिक संकटमा भारत, बेरोजगारी ४५ वर्षकै उच्च, के पर्ला नेपालमा असर ?

Advertisement

काठमाडौं । यतिबेला भारत गम्भिर आर्थिक संकटको भूमरीमा फस्दै गएको छ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले समेत भारतीय अर्थतन्त्र संकटबाट गुज्रिरहेको र त्यस्तो संकट अझै गहिरिने बताउँदै आएको छ ।

पछिल्लो केहि समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको विश्वास पात्र अर्थशास्त्रीहरुले समेत साथ छाड्न थालेका छन् । मोदी सरकारका पूर्व आर्थिक सल्लाहकार अरबिन्द सुब्रमण्यमले भारतीय अर्थतन्त्र सामान्य नभएर गम्भिर संकट तर्फ अघि बढेको बताएका छन् ।

मोदी सरकारले अर्थतन्त्र सम्बन्धि तथ्यांक तोडमोड गरेर प्रस्तुत गरेको, आर्थिक नीति उपयुक्त नभएको बताउँदै सुब्रमण्यमले मे महिनामा मोदी सरकारको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएका थिए । भारतको चर्चित अर्थशास्त्रीका रुपमा चिनिने सुब्रमण्यमले ३ वर्षसम्म मोदी सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । उनका अनुसार सन २०११ देखि २०१६ को अवधीमा भारतीय अर्थतन्त्रको वृद्धिदर वास्तविक भन्दा २.५ प्रतिशतले बढाएर प्रस्तुत गरिएको थियो ।

उनले भारतको उत्पादन, निर्यात र रोजगारीको अवस्थामा भारी गिरवाट आईरहेको, राजश्व संकलनको दर पनि निरासा जनक रहेको तर मोदी सरकारले तथ्यांक तोडमोड गरेर उच्च वृद्धि देखाईरहेको आरोप समेत लगाईरहेका छन् ।

उनका अनुसार सन २०११ देखि २०१६ को बीचमा भारतीय अर्थतन्त्रको वृद्धिदर जम्मा ४.५ प्रतिशत थियो तर त्यसलाई बढाएर मोदी सरकारले ७ प्रतिशतको आंकडा सार्वजनिक गरेको थियो ।

सन २०१९ कै जनवरी २८ तारिखका दिन भारतीय तथ्यांक विभाग(एनएससी)का अध्यक्ष पिसी मोहननले राजीनामा दिएका थिए । विभागले तयार पारेको रोजगारी सम्बन्धी तथ्यांक प्रकाशनमा मोदी सरकारले आलटाल गरेपछि उनले राजीनामा दिएका थिए । मोहननसँगै अर्का सदस्य जे लक्ष्मीले पनि राजीनामा दिएका थिए । सो अध्ययनका अनुसार भारतमा बेरोजगारी दर ४५ वर्षकै सबै भन्दा धेरै अर्थात ६.१ प्रतिशतले बढेको थियो ।

भारतीय अर्थतन्त्रमा यस्तो अवस्था आउँदा मोदी सरकारको पहिलो कार्यकाल थियो । निर्वाचनको मुखमा यस्तो तथ्यांक सार्वजनिक गरिँदा माहोल बिग्रने निश्चित थियो । त्यसकारण सरकारले तथ्यांकमै गडबडी रहेको भन्दै सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

झण्डै दुई तिहाई वैदेशिक व्यापार भारतसँग निर्भर रहेको नेपाल पनि त्यसको असरबारे चर्चा सुरु भएको छ । तर सरकारका तर्फबाट भने कुनै धारणा सार्वजनिक भएको छैन् ।(बीबीसीबाट)

Advertisement

Advertisement

Advertisement