इन्दुशङ्कर उद्योग शुक्रबारदेखि सञ्चालनमा, खुशी भए उखु किसान

Advertisement

सर्लाही । हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ । चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन् ।

उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको चलान पूर्जी वितरण थालिएको हो । उद्योगमा गत मङ्सिरमा नै डोंगा पूजा गरेर उद्योग सञ्चालनको तयारी गरिएको थियो ।

चालु याममा करीब ४८ लाख क्विन्टल उखु उत्पादन गरिए पनि ३५ लाख क्विन्टल उखु उद्योगले कटान गर्ने लक्ष्य राखेको उद्योगका उखु प्रबन्धक रजकले जानकारी दिनुभयो । गत वर्ष माघ १ गतेदेखि सञ्चालन शुरु गरी चैत १५ गतेसम्म उद्योगले ३५ लाख क्विन्टल उखु पेलेको थियो ।

सरकारले अहिलेसम्म उखुको मूल्य निर्धारण नगरेको भए पनि उद्योगले किसानसँग सहमति गरी गत वर्षको मूल्य निर्धारण गरेर कटाउन चलान पूर्जी वितरण गरेको हो । शुक्रबारदेखि उद्योग सञ्चालन शुरु गरिने उद्योगका उखु प्रबन्धक रजकले बताए ।

चालु यामका लागि उद्योगले उखुको मूल्य रु ४७१ र पैसा २८ तोक्दै सरकारको अनुुदानवापत किसानलाई रु ६५ र पैसा २८ उपलब्ध गराउने निर्णय गरेको छ । चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए ।

सरकारकोे योजनानुसार चिनी उद्योग सञ्चालनमा आलटाल भएकाले यही पुस ६ गते किसान र उद्योगबीच बसेर छलफल भएपछि उद्योगले उखु कटान चलान पुर्जी शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उद्योगहरुले उखु कटानको चलान पुर्जी वितरण शुरु गरेपछि किसानलाई उखु काट्न हतार भएको उनले बताए ।

यस वर्ष सर्लाही जिल्लामा करीब १७ हजार हेक्टरमा उखु खेती लगाइएको छ । सर्लाही नेपालकै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो । सर्लाहीबाट महोत्तरी, रौतहट, बारालगायत जिल्लाका चिनी उद्योगमा समेत उखु गएको पाइएको छ । रासस

Advertisement

Advertisement

Advertisement