भ्रमण वर्ष सफल पार्न भक्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिने

Advertisement

भक्तपुर । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गर्न लागेको 'नेपाल भ्रमण वर्ष २०२०' अभियानलाई सफल पार्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सन् २०२० जनवरी १ का दिन भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले पर्यटन वर्षमा भूकम्पले क्षति पुर्याएका ११६ सम्पदामध्ये ९३ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको जानकारी दिँदै लोपोन्मुख सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई प्राथमिकता, सम्पदा क्षेत्रमा नियमित सरसफाइ, मर्मतसम्भार र झल्लर राख्ने व्यवस्था एवं निजी आवासीय घरलाई परम्परागत शैलीमा निर्माण गर्न अनुदानको व्यवस्था गरेको बताए ।

‘नेपाल भ्रमण वर्ष लाई लक्ष्य गरी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने भएका छौँ, त्यसको आवश्यक तयारीमा जुटिरहेका छौँ’, नगरप्रमुख प्रजापतिले भने–‘रात्रीकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदा स्थलमा सौर्य र बिजुली बत्तीको व्यवस्था, पर्यटक बसपार्क, सूचना केन्द्र र स्तरीय शौचालय निर्माण गरिसकेका छौँ ।’

नगरपालिकाले स्थानीय पथप्रदर्शकलाई तालीम प्रदान गरी अझ व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न स्थानीय पथप्रदर्शक परिचालन समितिमार्फत व्यवस्थापन गरिरहेको बताउँदै नगरप्रमुख प्रजापतिले नगरको सरसफाइ र हरियाली प्रवद्र्धनलाई विशेष महत्व दिइरहेको बताए ।

नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न गर्ने अभियानका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईलाई जानकारीसमेत गराइएको छ ।

Advertisement

Advertisement

Advertisement