राजश्व छली गर्ने गुट्खा उद्योगदेखि मासु आयात गर्नेविरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको भन्दै गुट्खा उद्योगीदेखि भन्सार छली गरेर सामान ल्याएको भन्दै आयातकर्तासम्मलाई अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले मिचौंया, सिराहा नगरपालिका १ स्थित गोमती गुट्खा उद्योगका सञ्चालक मोहन महतोसमेत तीन जनाले राजश्व चुहावट गरेको भनदै ५१ करोड ९३ लाख रुपियाँ विगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन बर्ष कैद सजायको माग गर्दै जिल्ला अदालत सिराहामा आइतबार मुद्दा दर्ता गरेको छ ।

गोमती गुट्खा उद्योगका सञ्चालक मोहन महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धवकुमार महतोले सरकारलाई तिर्न बुझाउनुपर्ने राजश्व नतिरेको र गुट्खा बिक्री गर्दा कर बिजकसमेत जारी नगरेको, कारोबार लुकाएर न्यून कारोबारको विवरण आन्तरिक राजश्व कार्यालयमा पेश गरेको, उद्योगले नेपाल सरकारलाई बुझाउनुपर्ने आयकर तथा अन्तशुल्क र मूल्यअभिवृद्धि कर (भ्याट)समेत चुहावट गरेको विभागको भनाई छ ।

त्यस्तै, झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले जेबी सोलुशन प्रालीका सञ्चालकद्धय जनार्दन भण्डारी र फिरोज मास्केसमेत पाँच जनाविरुद्ध विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध तीन करोड ७१ लाख ४६ हजार ९०५ रुपियाँ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र तीन बर्ष जेल सजायको माग गर्दै यही पुस ९ गते मुद्दा दायर गरिएको हो ।

जेबीले वस्तु तथा सेवा खरिद नै गरी झुट्टा तथा नक्कली भ्याट बिल मात्र खरिद गरी भ्याट र आयकर चुहावट गरेको विभागको भनाई छ । साथै, राजश्व चुहावटमा मुख्य कसुरदारलाई सहयोग गरी मतियार भएको भन्दै विभागले डिएल श्रेष्ठ एण्ड एशोसियट्सका लेखापरीक्षक डम्बरलाल श्रेष्ठ तथा हाइवे लिंक प्रालीका कर्मचारी देवराज अधिकारी र अभिषेककुमार आचार्यलाई पनि कारवाहीको माग गरिएको छ ।

विभागले मासुजन्य पदार्थ भन्सार चोरी पैठारी गरी राजश्व छली गरेको भन्दै रिंकी चौधरीको नाममा दर्ता भएको सीआर ट्रेडिङको नाममा फर्ममा मुख्य कारोबार गर्ने दिनेश रायसमेत सात जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दर्ता गरेको छ ।

उनीहरुविरुद्ध एक करोड पाँच लाख रुपियाँ राजश्व चुहावट र विदेशी मुद्रा अपचलनको कसुरमा उक्त फर्मकी प्रोपाइटर रिंकी चौधरी र फर्मको मुख्य कारोबारी दिनेश रायलाई ६३ लाख ८५ हजार रुपियाँसमेत विगो कायम गरी मुद्दा दायर गरिएको हो ।

त्यस्तै, विभागले काठमाडौं नागार्जुन–१० स्थायी घर भएका दिपज्योति ग्रुप एण्ड फुड प्रोडक्ट कम्पनीका सञ्चालक वा वासुदेव मरहट्ठासमेत १० जनालाई फ्रेन्च फ्राइजलगायतका सामान भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियागमा ३१ लाख ८९ हजार तथा विदेशी मुद्रा अपचलनको कसुरमा उक्त फर्मका चार जना सञ्चालकहरुलाई २२ लाख ३९ हजार विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गरिएको छ ।

Advertisement

Advertisement

Advertisement