एमसीसीबाट सरकार पछि हट्दैनः परराष्ट्रमन्त्री ज्ञवाली

Advertisement

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) पास गर्ने कुराबाट सरकार पछि नहट्ने बताएका छन् ।मन्त्रालयले गरेका कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो कुरा बताएका हुन् ।

अमेरिकी सरकार अन्तरगतको उक्त एमएमसीका कार्यक्रम कार्यान्वयन गर्ने कुरा नेकपाको बैठकले समेत पास गर्छ–मन्त्री ज्ञवालीले भने ।एमएमसीका बारेमा नेकपाका नेताहरुले व्यक्त गरेको धारणा व्यक्तिगत हो भन्दै उनले ती नेताहरुको धारणाका पछि नकुद्न आग्रह गरे । उहाँहरुको अभिव्यक्ति लोकतन्त्रको अभ्यास हो–मन्त्री ज्ञवालीले बताए ।

एमसीसी इण्डोप्यासिफिक अन्तरगतको हो कि होइन भन्ने बहसको विषय नभएको उल्लेख गर्दै उनले भने–‘हामीले हस्ताक्षर गरेको कागजातमा होइन भन्ने छ, यसमा बहसै नगरौँ ।’ प्रतिस्पर्धाका आधारमा नेपालले प्राप्त गरेको एमसीसी परियोजनाका लागि विसं. २०७२ सालबाटै प्रक्रिया सुरु भएको हो ।

अमेरिकी अनुदान ५० करोड डलर र नेपाली १३ करोड डलरको यो परियोजनाबाट तीन सय किलोमिटरभन्दा लामो प्रसारणलाइन र एक सय किलोमिटर कच्ची सडकको स्तरोन्नती गरिने लक्ष्य रहेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको यो परियोजना तोकिएको मितिभित्र सक्नैपर्ने हुन्छ । नसके अनुदान फिर्ता जान्छ ।

एमसीसीको यो परियोजना अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिअनुसार आएकाले यसलाई संसदबाट अनुमोदन गर्न नहुने नेकपाका केही नेताहरुको तर्क छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेताहरु भीम रावल, देव गुरुङ, जनर्दन शर्मालगायतले एमसीसी कम्प्याक्टलाई कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने अडानमा छन् भने प्रधानमन्त्री केपी ओलीसहित बहुसंख्यक नेताहरु भने अनुमोदनको पक्षमा छन् ।

विशेषगरी चीनले इण्डो प्यासिफिक रणनीति र उसले एमसीसीमार्फत गर्न लागेको सहयोगका बारेमा आशंका गरेकाले पनि सत्तारुढ दलमा पनि दुई धार देखिएको हो । प्रमुख प्रतिपक्ष दल काँग्रेसले भने उक्त प्रस्ताव पास गर्न आफूले सहयोग गर्ने जनाइसकेको छ ।

Advertisement

Advertisement

Advertisement