भ्रमण बर्ष २०२० लाई राष्ट्रिय उत्सवको रुपमा मनाउने तयारीमा छौंः भट्टराई

Advertisement

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को तयारी सम्पन्न गरिसकेको बताएका छन् । यही जनवरी १ मा दशरथ रंगशालामा सरकारको भव्य कार्यक्रम गरी भ्रमण बर्षको शुभाम्भको तयारी गरिरहँदा भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी यसको तयारीबारे जानकारी गराएका हुन् ।

सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण बर्ष २०२० आयोजना गर्न लागेको हो । उनले आफू मन्त्री भएदेखि नै अधिकांश समय भ्रमण बर्षको लागि खर्चिएको सुनाउँदै यस बीचमा एकसयभन्दा बढि स्वदेशी तथा विदेशी संघसंस्था र सरोकारवाला निकायसँग छलफल भएको पनि बताए ।

भट्टराईले ती छलफलहरु २० लाख पर्यटक भित्राउने कुरामा मात्रै केन्द्रित नरेर कसरी राष्ट्रिय एकता कायम गर्ने ? र भ्रमण बर्षलाई कसरी राष्ट्रिय उत्सवको रुपमा मनाउने भन्ने कुरामा केन्द्रित रहेको बताए ।

के गर्दा हामीले पर्यटन विकासका लागि राखेका दिर्घकालिन सपनाहरु पूरा गर्न सकिन्छ ? संवृद्ध नेपाल सुशी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक सामाजिक असमानता अन्त्य गर्ने कुरामा पर्यटन क्षेत्रको कस्तो योगदान हुन्छ ? भन्ने कुरामा आफूहरुको ध्यान रहेको छ भन्दै उनले भ्रमण बर्षमार्फत विश्वलाई नेपाल संवृद्धिको बाटोमा अघि बढ्दै छ भन्ने सन्देश दिनुपनि रहेको बताए ।

मन्त्री भट्टराईले भ्रमण बर्षमार्फत विश्वभरका लगानीकर्तालाई नेपाल लगानीको उपयुक्त मुलुक हो भन्ने सन्देश पनि दिने लक्ष्य रहेको बताउँदै २० लाख पर्यटक ल्याउने लक्ष्य राख्दा गुणस्तरीय पर्यटक भित्राउने, पर्यटक क्षेत्रबाट राजश्व तथा रोजगारी बढाउने र समग्र आर्थिक वृद्धिमा पनि योगदान दिनु हो भने ।

Advertisement

Advertisement

Advertisement