प्रदेशमा पुँजी बजारका लगानी कर्ता खोजिँदै

Advertisement

काठमाडौं । पुँजी बजारको दायरा विस्तारका क्रममा प्रदेशमा लगानीकर्ताको खोजी सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएसले प्रदेशमा पुगेर लगानीकर्ता सचेतना कार्यक्रम गरिरहेका छन् ।

पहिलो चरणमा गण्डकी प्रदेशको पोखरा, बागलुङ र तनहुँको दमौलीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले पुँजी बजारमार्फत प्रदेशको विकासका लागि आवश्यक पर्ने लगानी जुटाउन सकिने धारणा राखेका थिए ।

उनले आजको युगमा देश विकासका लागि श्रोत जुटाउने उपयुक्त माध्यम पुँजी बजार नै भएको धारणा पनि राखेका थिए । साथै आफ्नो प्रदेशमा पुँजी बजारको विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले पहिलो चरणम गण्डकी प्रदेशमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको र क्रमशः सातै प्रदेशमा पुग्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, सिडिएसका सञ्चालक निरञ्जन फुँयाल र सिडिएसका सहायक प्रबन्धक सुरेश न्यौपाने लगायतले लगानीकर्तालाई सचेतना तालिम दिएका थिए ।

Advertisement

Advertisement

Advertisement