पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत

Advertisement

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश गराइएको हो ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक दर्शन गर्नुपर्ने सूचीमा राख्ने पशुपति मन्दिर क्षेत्र अन्य धर्मावलम्बीका मानिसले पनि घुम्ने इच्छा गर्छन् । पशुपति क्षेत्रमा आउने विदेशी पर्यटकलाई पशुपति क्षेत्र विकास कोषले रु एक हजार शुल्क लिँदै आएको छ ।

भ्रमण वर्षको पहिलो दिन आज प्रवेश गरेका चार पर्यटकलाई शुल्क नलिई रुद्राक्षको माला लगाएर स्वागत गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । जापान, इटाली, चीनलगायत देशबाट नेपाल आई पशुपति क्षेत्रमा घुम्न आएका पर्यटकलाई स्वागत गरिएको उहाँले सुनाउनुभयो । कोषले पशुपति क्षेत्रको पश्चिम मूलढोका, वत्सलेश्वरी, तिलगङ्गा र गुह्येश्वरी गरी चार वटा काउन्टर विदेशी पर्यटक छिराउन निर्माण गरेको छ ।

ती काउन्टरबाट आज बेलुकी पाँच बजेसम्म करीब २५० विदेशी पर्यटक प्रवेश गरेका छन् । यसैगरी नेपाल भ्रमणवर्ष सचिवालयले आज दशरथ रङ्गशालामा आयोजना गरेको उद्घाटन कार्यक्रममा भाग लिन पशुपति क्षेत्रबाट कोषका पदाधिकारीसहित कर्मचारी र्यालीसहित पुगेका थिए ।

Advertisement

Advertisement

Advertisement