सरकार र उद्योगीको प्रवृत्तिका कारण उखु खेतीप्रति किसानको आकर्षण घट्दो

Advertisement

जनकपुरधाम । उखु खेती यसबर्ष २० प्रतिशतले घटेको छ। सरकार र उद्योगीको रबैयाले उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो।

सरकारले उखु किसानलाई अनुदान रकम समयमा दिंदैन। उद्योगीले उधारोमा उखु लिएर भूक्तानी गर्न बर्सेनी आलटाल गर्छन्। उखु खेतीमा भविष्य नदेखेपछि निराश भएको किसानहरू बताउँछन्।

गतवर्ष देशभरीमा दुई करोड तीन लाख क्वीन्टल उखु उत्पादन भएको थियो। यसवर्ष लगभग एक करोड ८० लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान छ । गत वर्षभन्दा यस वर्ष २३ लाख क्वीन्ट उखुखेती घटेको नेपाल उखु उत्पादक महासंघले जनाएको छ।

सरकारले किसानलाई अनुदानको व्यवस्था गरेसँगै उखु खेती फस्टाएको थियो। तर, बाहिरी देशबाट चिनी आयात गरेर कमिसन खान पलेकाहरुको सेटिङ्गले उखु खेती गर्ने किसान मारमा छन्।

नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीका अनुसार, चिनी उद्योगी र सरकारले दिने अनुदान गरी दुई अर्ब उखुको भूक्तानी किसानले पाएका छैनन्।‘रगत पसिना बगाएर उखु उब्जाएर उद्योगीलाई दिन्छौं। भुक्तानी गर्न आलटाल गर्छन्। वर्ष दिन हामीलाई झुलाइदिन्छन्’, उनले भने, ‘ आन्दोलन गरे सरकारले थुन्न पत्र काटेर खोजी गर्छ। सरकारले त झन् अनुदान रकम दिने मनसाय नै देखाउँदैन। सरकारलाई हामी अब के गरौं ?’ गत वर्ष देशभर नौ अर्ब ८६ करोडको उखु उत्पादन भएको थियो।

गत वर्षकै एक अर्ब ३२ करोड सरकारले दिनु पर्ने अनुदान किसानलाई दिइएको छैन। परारकै दुई करोड सरकारले दिनु पर्ने अनुदान पाएका छैनन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement