उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँः प्रचण्ड

Advertisement

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताए । कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको जोड छ ।

उनले भने, “सबै किसानलाई सङ्गठित र जागरुक गराउन आवश्यक छ, उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छ ।” मासु, अण्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको उनले बताए । संविधानले नेपालको अर्थ व्यवस्थालाई तीन खम्बे नीति भनेर परिभाषित गरेको छ । उनले भने, “त्यसमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढ्छ ।” अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको बताए ।

समाजमा पछि परेका समुदायलाई सङ्गठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । अध्यक्ष दाहालले नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको बताए । “पुरानो व्यवस्थाले शोषण र विभेद गरेको वर्ग समुदायलाई अगाडि ल्याउने, आत्मनिर्भर बनाउने र उनीहरुको जीवनलाई समग्र विकासको साझेदार बनाउने परिकल्पना हामीले गरेका छौँ”, उनले भने ।

नेपाल कृषि, सहकारी केन्द्रीय सङ्घले कूल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो । जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement