भीसीटीएसले अटोमोवाइल क्षेत्र अन्योलमा परेको भन्दै राजश्व अनुसन्धान विभागको ध्यानाकर्षण

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल डिलर एशोसियशनको नवनिर्वाचित कार्यसमितिले बिहीबार राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई भेटी भीसीटीएस लागू गर्दा उत्पन्न हुने समस्याबारे छलफल गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले व्यवसायिक क्षेत्रलाई पारदर्शी र स्वच्छ बनाउने भनेर ल्याएको भेहिकल कन्साइनमेन्ट ट्राकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयन गर्दा विशेषगरी अटोमोवाइल क्षेत्रमा अन्योललता देखा परेको बताउँदै यसबारे जानकारीसमेत नभएका कारण व्यवसायीले बिना कारण जरिवाना तिर्नुपर्ने बाध्यता भइरहेको बताए ।

महानिर्देशक मैनालीले भने भीसीटीएस व्यवसायीहरुकै हितका लागि ल्याइएको भन्दै यसको कार्यान्वयनमा के कस्तो सहयोग विभागले दिनुपर्छ ? त्यसका लागि आफूहरु तयार रहेको बताए । उनले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शीता भएपछि स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरुकै सहजताको लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको बताए ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भीसीटीएसबारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिनाभित्रै प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएकाले त्यसका लागि विभागबाट सम्वन्धित् विज्ञ पठाइदिन आग्रह गरे । भेटमा महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज सिस्टमबारे पनि जानकारी दिए ।

नाडाको टोलीमा नाडाका निवर्तमान अध्यक्ष शम्भु दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, महासचिव सुनिल रिजाललगायत थिए ।

Advertisement

Advertisement

Advertisement