बफकिङ्ककलीलाई ‘हात्ती सुन्दरी’को उपाधि, फाष्टवाकतर्फ एकताकली प्रथम

Advertisement

भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बफकिङ्ककलीले हात पारेको छ । १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत प्रतियोगिताको फाइनलमा ज्ञानेन्द्रकुमार विष्टको ३५ वर्षीय हात्ती बफकिङ्ककलीले उपाधि हात पारेको हो ।

प्रतियोगितामा बलराम दाहालको चम्पाकली फस्ट रनरअप र गोकर्ण गिरीको जयमतिकली सेकेण्ड रनरअप भए । हात्तीले १०० पूर्णाङ्कमा क्रमशः ६९.३३, ५८ र ५२.६० अंक प्राप्त गरे । प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध पाँच हात्ति सहभागी थिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा बेहुलीझैँ सिँगारिएका हात्तीको सुँड, दारा, खुट्टा, हिँडाइ र माहुतेको आनीबानी बुझेर निर्णय गरिएको महोत्सवका मूल सहसंयोजक क्रृषि तिवारीले बताए । हात्तीको श्रृङ्गार, अनुशासन र हात्तिको स्वास्थ्यसमेत हेरिएको उनले बताए ।

प्रतियोगितामा दर्शकले वनभोजपछि सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो । यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ्य राख्न प्रेरणा दिन्ने सहसंयोजक तिवारीले बताए ।

यस्तै हात्ति फाष्टवाकको उपाधि एकताकलीले जितेको छ । लक्कीकली फष्ट रनरअप र गुलाबकली सेकेण्ड रनरअप भएका छन् । ६ वटा हात्ती प्रतिस्पर्धामा उत्रिएका थिए । पुस १० गतेबाट सौराहामा हात्ती महोत्सव सञ्चालन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement