प्रधानमन्त्री ताक्दा राष्ट्रिय सभामा यसरी चिप्लिए बामदेव गौतम

Advertisement

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमको संसद प्रवेश गर्ने योजना पुरानै हो । तर उनीले पटक पटक गरेका प्रयास असफल हुँदै आए ।

कहिले धनुषामा रघुबिर महासेठको क्षेत्र ताक्ने त कहिले काठमाडौंमा रामबिर मानन्धरलाई राजीनामा गराउनेसम्मका योजना बने । तर ति योजना सफल भएनन् । त्यसपछि डोल्पामा धन बहादुर बुढाको क्षेत्र पनि ताके । त्यहाँ पनि सफलता हात लागेन् । त्यसपछिको उनका चर्चा कास्की क्षेत्र नम्बर २ मा गयो । तर उनका लागि त्यहाँ पनि अनुकुल वातावरण तयार भएन् ।

त्यसपछि सबैले बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने आड्कल गरेका थिए । तर गोरखाबाट निर्वाचन हारेका नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको नेकपाले बर्दियाबाट चुनाव हारेका गौतमलाई उम्मेदवार बनाएन् ।

आखिर किन भएनन् त बामदेव गौतम राष्ट्रिय सभा उम्मेदवार ?
नेकपा श्रोतका अनुसार पार्टी सचिवालयले उनलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन चाहेको थियो । अध्यक्षद्धय केपी ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल पनि गौतमलाई उम्मेदवार बनाउन तयार थिए । सचिवालयका सबै नेताहरु गौतमलाई उम्मेदवार बनाउन तयार हुँदा पनि अन्तिम नामावलीमा भने उनको नाम समावेश भएन् ।

नेकपा उच्च श्रोतका अनुसार गौतमले आफु प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै संसद बन्ने अडान राखेका थिए । राष्ट्रिय सभा सदस्य बनेर प्रधानमन्त्री निर्वाचित हुन नपाउने संबैधानिक व्यवस्थाका कारण गौतम आफैंले राष्ट्रिय सभाको बाटो बन्द गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement