एमसीसीबारे चीनले बोल्यो– अमेरिकी सहयोग लिन नेपाल स्वतन्त्र छ, त्यो नेपालकै हितमा हुनुपर्छ

Advertisement

काठमाडौं । चीनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बाट सहयोग लिनसक्ने बताउँदै त्यस्तो सहयोग नेपालको मात्रै हितमा हुनुपर्ने बताएको छ । चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार पत्रकार सम्मेलन गर्दै एमसीसीको सहयोग अन्य देशको अहितमा हुननहुने संकेत गरेकी हुन् ।

एमसीसीमार्फत अमेरिकाले दिन लागेको करिव ५५ अर्ब रुपियाँ अनुदान संसदबाट अनुमोदन गरेर लिने नलिने ? विषयमा ठूलो बहस र विवाद चलिरहेको बेला चीनले यस विषयमा आफ्नो धारणा राखेको हो । यान्छीले एमसीसीबाट सहयोग लिने नलिने विषयमा नेपाल आफैले स्वतन्त्ररुपमा निर्णय लिनसक्ने भन्दै यस्तो सहयोग नेपालको हितमा हुनुपर्ने बताइन् ।

उनले नेपाल र चीनबीच निकै लामो सम्वन्ध रहेको र यो सम्वन्ध निकै मजबुत रहेको भन्दै नेपालले आफ्नो हितमा हरेक मित्र राष्ट्रसँग सहकार्य गर्नसक्ने बताइन् । नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउँदै यान्छीले त्यसका लागि चीनसँग मात्रै नभएर हरेक मुलुकसँग सहयोग लिन स्वतन्त्ररुपमा निर्णय गर्नसक्ने बताइन ।

कुनै पनि देशसँग लिने नलिने विषयमा नेपालले कसैको दबाबमा नभई आफ्नो आवश्यकताका आधारमा निर्णय गर्नसक्ने विषय भएको उनको तर्क छ । यान्छीले नेपालको विकासमा चीन सधैं सहयोग गर्न तत्पर रहेको पनि स्पष्ट पारिन् ।

राजदूत यान्छीले नेपाल र चीन सहकार्य गरेर नै आपसी हितमा अघि बढ्ने बताउँदै चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणपछि सहकार्यले गति लिएको बताइन् । उनले नेपाल, चीन र भारतसहितको त्रिपक्षीय साझेदारीको महत्वमागि जोड दिँदै यसलाई नयाँ मोडलको रुपमा विकासका लागि सहकार्य गरेर लैजान सकिने बताइ्न ।

साथै, यान्छीले नेपाल र चीनबीच विगतमा भएको महत्वपूर्ण सहमतिहरु अगाडि बढाउने काम भइरहेको उदाहरण दिँदै त्यसै क्रममा रेलमार्गको अध्ययनको माग चलिरहेको बताइन् । रेल बनाउने कुरा निकै जटिल र खर्चिलो काम भए पनि दुई देशबीचको सहकार्यका लागि यसलाई अघि बढाउने कुरामा चीन सकारामत्मक रहेको बताइन् । विकासका अन्य परियोजनाका साथै सुरुङमार्ग र हवाईमार्गलाई पनि बढावा दिने काम अघि बढिसकेको यान्छीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement