सुनचाँदी शिल्प व्यवसायीको साधारणसभामा नेपाली मौलिक गरगहना प्रदर्शन

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १० औं बार्षिक साधारणसभा तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । संघले शनिबार काठमाडौंमा बिभिन्न कार्यक्रम सहित आफ्नो १० औं बार्षिक उत्सव मनाएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बार्षिक उत्सव समारोहको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले राज्यमा शुसासन कायम भए सुनचाँदी लगायतका व्यवसायहरु व्यवस्थित हुने बताए । ‘अहिले राज्यका विद्यमान बेथितिहरूका कारण हरेक व्यवसाय अस्तव्यस्त भएका छन्, यसबाट सुनचाँदी व्यवसाय पनि बच्न सकेको छैन,’ उनले भने, ‘मुलुकमा शुसासन कायम गर्न सरकार पनि अगाडि बढेको छ, त्यसमा व्यवसायीहरूले पनि अहम भूमिका आवश्यक छ ।’

यस्तै, संघका अध्यक्ष टंकबहादुर बराइलीले सुनचाँदी क्षेत्रका समस्याहरूको समाधान गर्ने बिषयमा संस्था अगाडि बढेको बताए । साथै, नेपालका मौलिक गरगहनाहरुको पवद्र्धन गर्ने बिषयमा पनि संघले काम गर्दै आएको उनको भनाइ छ ।

नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदी व्यवसायका लागि नीतिगत समस्याहरू धेरै भएको बताए । त्यस्ता नीतिगत समस्यालाई राज्यले यथाशिघ्र समाधान गर्नुपर्ने उनको भनाइ छ । नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष केशर सेञ्चुरीले पनि त्यस्ता समस्या समधान गर्न सरकारको सहयोग आवश्यक भएको बताए ।

यस्तै, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पनि सुनचाँदी व्यवसायसँग सम्बन्धी सबै संघसस्थाहरू एकजुट हुनुपर्ने बताए । सब संघसंस्थाहरू एकजुट भए मात्रा विद्यमान समस्याहरू समाधान गर्न सकिने उनको भनाइ छ ।

संघले बार्षिक उत्सवको अवसरमा नेपाली मौलिक गरगहना तथा ज्वेलरीहरूको ‘पेशन शो’ पनि गरेको थियो । साथै, साधारणसभा मार्फत विद्यान संसोधन पनि गरिएको संघको भनाइ छ । संघका केन्द्रीय सदस्य त्रिलोचन विश्वकर्माले भने, ‘संघीय संरचना अनुसार संघको प्रदेश समिति बनाउने गरी विधान संसोधन गरिएको छ । साथै, केन्द्रीय समितिमा सह–सचिव र सह–कोषअध्यक्ष पनि थप गर्ने गरी विद्यान संसोधन गरेका छौं ।’

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ सुनचाँदी व्यवसायीहरुको संगठन हो । स्थापना कालदेखि नै नेपाली मौलिक गरगहनाको प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको संघको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement