गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुख सहित ६ जना बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसमेत ६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार धनुषा जिल्लाको भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता/भ्रष्टाचार भएकोले संलग्नलाई कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा अनुसन्धान हुँदा गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख पाण्डेले उन्नाइस लाख तीस हजार रुपियाँ मोहीहरुलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस लिएको पुष्टी भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले छ लाख पचास हजार रुपियाँ मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस लिएको अनुसन्धानका क्रममा पुष्टी भएपछि उनी बिरुद्ध समेत बिगो र सजायको माग सहित मुद्दा दायर भएको छ ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले चार लाख तीस हजार घुस लिएको पुष्टी भएपछि उनी बिरुद्ध पनि मुद्दा दायर भएको आयोगले जनाएको छ ।

प्रतिवादी सुमनकान्त ठाकुरले मोहीबाट पटक/पटक गरी त्रिसठ्ठी लाख छत्तीस हजार छ सय सतसठ्ठी रुपियाँ लिई राष्ट्रसेवक कर्मचारीहरुलाई प्रलोभनमा पारी लिनेखाने गरी घुस लिएको अनुसन्धानका क्रममा खुलेको छ ।

मोही भनिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जाबापत २०६९ असार २७ गते लिएको रकम बाह्र लाख एकासी हजार छ सय सतसठ्ठी मध्येबाट सोही बाह्र लाख पचास हजार आफूले लिएका थिए ।

सोही रकममध्येबाट सुमनकान्त ठाकुरलाई सात लाख पैतीस हजार रकम मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारीहरुसमेतलाई दिने गरी घुस लिएको पुष्टी भएको हो ।

Advertisement

Advertisement

Advertisement