अब हेलमेटमा पनि नेपाल गुणस्तर अनिवार्य

Advertisement

काठमाडौं । अब मोटरसाइकल चालकहरुले लगाउने हेलमेटमा पनि नेपाल गुणस्तर अनिवार्य गरिने भएको छ । कमसल र गुणस्तरहिन हेलमेटहरुका कारण मोटरसाइकल दुर्घटनामा मानविय क्षति बढि भएको निष्कर्षसहित नेपाल गुणस्तर चिन्ह अनिवार्य गर्न लागिएको हो । ‘हेलमेटलाई पनि नेपाल गुणस्तर अनिवार्य गर्ने सम्बन्धी फाइल मन्त्रालय पठाईसकेका छौं, मन्त्रिपरिषदले निर्णय गरेपछि त्यो कार्यान्वयनमा आउँछ’, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।

विभागले हेलमेटसहित एलपीजी रबर हज पाइप(खाना पकाउने ग्यास), जिआई शिट(स्टिल जस्ता) र पिभिसी मल्टिस्ट्याण्डर्ड पाइपमा पनि नेपाल गुणस्तर अनिवार्य गर्न लागिएको छ ।
सो सम्बन्धि फाइलमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा करिब २ महिना अघि नै पठाईसकिएको पनि महानिर्देशक पुडासैनीले भने ।

मन्त्री लेखराज भट्ट समेत सकारात्मक देखिएकाले केहि समयभित्रै मन्त्रिपरिषदबाट निर्णय हुने अपेक्षा पनि उनले व्यक्त गरे । मन्त्रिपरिषदले पास गरेपछि आयात गरिने वा नेपालमै निर्माण हुने हेलमेटहरुमा नेपाल गुणस्तर अनिवार्य गरिनेछ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले हेलमेटमा नेपाल गुणस्तर अनिवार्य गरिनु राम्रो भएको बताए । ‘हेलमेटहरु सुरक्षित, बलियो र गुणस्तरिय हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो, हेलमेटमा नेपाल गुणस्तर अनिवार्य गर्न लागिएको हो भने त्यो राम्रो हो’, एसएसपी ढकालले कर्पाेरेट नेपालसँग भने ।

Advertisement

Advertisement

Advertisement