‘नेपाल फोटो प्रतियोगिता २०७६’ सुरु, जोसुकै नेपालीले भाग लिन पाउने

Advertisement

काठमाडौं । फोटो जर्नालिस्ट क्लबले विगत ७ वर्षदेखि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको सातौं संस्करणको घोषणा गरेको छ । क्लवले आइतबार कार्यक्रम गरी नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको हो ।

ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले प्रतियोगिता सुुरु भएको घोषणा गरे । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहनेले आईतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेभसाइट पीजेक्लव डटकम डट एनपी वा एनपीसी डट फोटोनेपाल डट ट्राभलमा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ ।

प्रतियोगितामा व्यावसायिक र सौखिन सबै फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ ।

उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्ने छ । आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ मध्यरातमा १२ बजे बन्द हुनेछ ।
फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट–भी’ पनि लोकार्पण गरिएको थियो ।

डिस मिडियाका उप–महाप्रवन्धक सञ्जय राजभण्डारीले फोटो जर्नालिस्ट क्लबले आयोजना गर्दै आएको फोटो प्रतियोगितामा सहकार्य गर्न पाउनु गर्वको विषय रहेको र यस्ता कार्यमा फोटो जर्नालिस्ट क्लबसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए ।

यसैगरी शिखर इन्स्योरेन्स कम्पनीका वरिष्ठ प्रवन्धक सुरज राजवाहकले ५ वर्षदेखि कम्पनीले फोटो प्रतियोगिता आयोजनामा फोटो जर्नालिस्ट क्लबसँग सहकार्य गरिरहेको बताए । उनले यसपल्टको फोटो प्रतियोगिताको सफलताका लागि क्लबलाई शुभकामनासमेत दिए ।

कार्यक्रममा फोटो पत्रकार गोपाल चित्रकार, पर्यटन बोर्डका कामु निमित्त निर्देशक विमल कँडेल, अर्घाखाँची सिमेन्ट प्रालि कामु महाप्रवन्धक रमेश थापाले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement