रेल्वे विधेयक संसदमा, विदेशमा समेत नेपाली रेल पुर्याउने चाहना

Advertisement

काठमाडौँ । रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानुनी आधार तयार पार्न विधेयक संसद्मा दर्ता गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले दर्ता गरेको विधेयकको प्रक्रिया चालू अधिवेशनमै अगाडि बढ्ने छ । विधेयकमा रेल, मेट्रो रेल, मोनो रेलको विकास तथा विस्तारका आवश्यक संरचना, बोर्ड र कार्यकारी समिति गठनको प्रस्ताव गरिएको छ । सरकारले चालू वर्षमा रेल सेवाको अध्ययन, विस्तारलगायतका काममा सात अर्ब ७० करोड रुपियाँ विनियोजनसमेत गरेको छ ।

विधेयकले रेल्वे बोर्डको स्थापना तथा सञ्चालन, कार्यकारी समिति गठन, कर्मचारी नियुक्ति तथा व्यवस्थापनको संरचना, कसुर तथा दण्डलगायतका व्यवस्था समेटेको छ । विधेयकअनुसार रेल्वेको विकास र विस्तारका लागि बोर्ड स्थापना हुने छ ।

बोर्डको अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुने व्यवस्था छ । अर्थ, उद्योग, कानुन, गृह मन्त्रालयका सचिव बोर्डमा सदस्य हुने प्रस्ताव छ । तीन सदस्य भने सरकारबाट मनोनयन हुने प्रस्ताव छ । रेल्वेसम्बन्धी नीति निर्माण तथा कार्यान्वयन, वार्षिक योजना तथा बजेट स्वीकृतिको अधिकार बोर्डलाई हुने छ । बोर्ड मातहतमा कार्यकारी समिति गठनको प्रस्ताव विधेयकमा छ । बोर्डको कामका लागि कार्यकारी समिति प्रस्ताव गरिएको हो । भौतिक पूर्वाधार मन्त्रालयका सचिवको अध्यक्षतामा कार्यकारी समिति गठनको प्रस्ताव विधेयकमा छ ।

विदेशी भूमिमा पनि रेल्वे
विधेयकमा विदेशमा पनि रेल्वे सञ्चालन गर्न सक्ने व्यवस्था प्रस्तावित छ । प्रस्तावित विधेयकको दफा १५ मा भनिएको छ, “नेपाल सरकारले एक वा एकभन्दा बढी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपाली भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारस्परिकताका आधारमा आवश्यक व्यवस्था गर्न सक्ने छ । ”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement