पुनर्निर्माण सन्तोषजनक: राष्ट्रिय सरोकार समिति

Advertisement

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै पुनर्निर्माण भइरहेका संरचनाहरु पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।

सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल थापाले समितिले दिएका निर्देशनहरु मूलतः कार्यान्वन भएकोमा प्राधिकरणको प्रशंसा गर्दै बाँकी गुनासोको सुनुवाई छिटो गर्न निर्देशन दिइन् ।

एघार महिनाअघि समितिले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा दिएर काम गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

सांसद सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण भएका विद्यालयहरु लोभलाग्दा भएको बताए । उनले कागजमा भिन्न नभएका तर व्यवहारमा छुट्टै बसिरहेका भूकम्प प्रभावितको समस्या समाधान गर्न आग्रह गरे ।

सांसद खिमलाल भट्टराईले धरहरा र रानीपोखरीको पुनर्निर्माणमा पछिल्लो अवस्थामा राम्रो प्रगति भएकोमा खुशी व्यक्त गर्दै तोकिएको समयमै बन्ने विश्वास व्यक्त गरे । उनले एकीकृत वस्तीमा रहने लाभग्राहीको टुंगो लागेरनलागेको जिज्ञासा राख्दै एकीकृत वस्तीको अवधारणा राम्रो भएको बताए ।

सांसद रमेशप्रसाद यादवले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा पुरानै ढाँचामा परम्परागत सामग्रीहरु प्रयोग भएकोमा खुशी व्यक्त गर्दै त्यसलेगर्दा मौलिकता जोगिने धारणा व्यक्त गरे । सांसद रामचन्द्र राईले पुनर्निर्माणले गति लिएको भन्दै प्राधिकरणको प्रंशसा गर्नु भएको थियो । उहाँले थप विश्वास आर्जन गर्ने गरी काम गर्न प्राधिकरणलाई सुझाव दिए ।

सांसद धनकुमारी खतिवडाले रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणबारे चासो व्यक्त गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माण व्यवसायीले राम्रो काम नगरेकाले अब उपभोक्ता समितिमार्फत रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्ने जानकारी दिए ।

सांसद कोमल वलीले एक वर्षभित्रमा पुनर्निर्माणका कामहरु सम्पन्न हुने÷नहुने बारे जिज्ञासा व्यक्त गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिले पनि बजेट मुख्य चुनौती भएको भन्दै बजेटको व्यवस्थापन भए एक वर्षभित्रमा पुनर्निर्माणका महत्वपूर्ण कामहरु सम्पन्न हुने बताइन् ।

सांसदहरुले भारतीय एक्जिम बैंकको ऋण सहयोग, गोरखा दरबार पुनर्निर्माण, भूमिहीन तथा सुकुम्बासीहरुको निजी आवास पुनर्निर्माण लगायतका जिज्ञासा राखेका थिए । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवासमा ८६ प्रतिशत प्रगति भएको उल्लेख गर्दै पुस महिनाभित्र गुनासोहरुको सम्बोधन हुने जानकारी गराए ।

धरहराको चौथो तलाको काम सम्पन्न भएको उल्लेख गर्दै उनले हरेक महिना दुई तलाका दरले थपिंदै जाने पनि बताए । रानीपोखरीको काम पनि अगाडि बढिरहेको र ०७७ बैशाखमा काम सम्पन्न गर्नेगरी अघि बढेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement