सेयर बजारमा ३ दिनमै ‘हाफ सेञ्चुरी’ ग्रोथ, यस्ता छन् कारण

Advertisement

काठमाडौं । ३ दिनमै सेयर बजारमा हाफ सेञ्चुरीको उछाल आएको छ । आइतबारदेखि मंगलबारको अवधीमा सेयर बजार ५०.५८ अंकले वृद्धि हुँदा कारोबार रकम पनि एक अर्ब नाघ्न थालेको हो ।

पुस २० गते आइतबारका दिन १६.०९ अंकले बजार बढ्दा ७१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार अर्थात पुस २१ गते १८.२६ अंकले बजार बढेको थियो भने ८४ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, पुस २२ गते मंगलबारका दिन नेप्से परिसूचक १६.२३ अंक वृद्धि भएर कारोबार रकम पनि एक अर्ब १० करोड पुगेको छ । ३ दिनमै सेयर बजामा हाफ सेञ्चुरीको ग्रोथ देखिएपछि सेयर बजारका पण्डितहरुमा उत्साह थपिएको छ । निरन्तर ओराले लागेको बजारमा अब उकालो लाग्ने आशा उनीहरुले व्यक्त गरिरहेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले अब बजार उकालो चढ्न थालेको बताए । ‘अब बजारमा केहि सकारात्मक संकेत देखिएन थालेका छन्, बैंकको ब्याजदर सस्तो भएको छ, लगानीकर्तामा नयाँ आशा जागेको देखिन्छ’, फोरमका महासचिव लम्सालले भने ।

घट्दो ब्याजदर र बढ्दो तरलता
बैंकहरुले न्युन ब्याजदरमै सेयर कर्जा प्रवाह गर्न थालेका छन् । बैंकहरुमा तरलता अभाव हट्दै गएर लगानी योग्य पूँजी थप्रिन थालेको छ । बैंकका कर्मचारीहरु ब्रोकर कार्यालयमै पुगेर ऋण लिने कारोबारी पठाईदिन आग्रह गर्न थालेका छन् ।

बैंकहरुले साविकको भन्दा २ प्रतिशतसम्म ब्याजदर घटाएर सेयर कर्जा दिन थालेका छन् । ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले बैंकको ब्याजदर घट्दो क्रममा रहनु, बैंकहरुको नाफामा राम्रो सूचिक देखिनु, लगानीकर्ताको धैर्यको समय सकिनु लगायतका कारणले बजारमा उत्साह देखिएको बताए ।

अर्थमन्त्रीको बहिर्गमन
सेयर बजार प्रति नकारात्मक धारणा रहेको आरोप खेपिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा कार्यकाल फागुन २० गते सकिँदैछ । त्यसपछि उनको वहिर्गमन हुने आशामा लगानीकर्ता रहेको देखिन्छ । ‘अहिलेका अर्थमन्त्री सेयर बजार प्रति पुरै नकारात्मक धारणा राख्छन्, उनको कार्यकाल सकिन लागेकाले पनि लगानीकर्तामा उत्साह थपिएको हो’, एक लगानीकर्ताले भने ।

धितोपत्र बोर्डमा भिष्म ढुंगानाको इन्ट्री
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानाको नियुक्तीले पनि लगानीकर्तामा सकारात्मक सन्देश दिएको अर्काथरीको भनाई छ । सेयर बजारमा बैंक तथा वित्तिय संस्थाहरुको बोलवाला हुनु र राष्ट्र बैंककै पूर्व क्याडर ढुंगानाले बोर्डको नेतृत्व पाउनुले उनीहरुलाई उत्साहित बनाएको हो । ढुंगानाको नेतृत्वमा बैंकहरुले ब्रोकर लाइसेन्स पाउने आशा पनि लगानीकर्ताहरुले गरिरहेका छन् ।

धैर्यको बाँध भत्कियो
निरन्तर ओरालो लागिरहेको सेयर बजार अब थप घट्ने ठाउँ नरहेको निष्कर्षमा पनि लगानीकर्ताहरु पुगेको बताइन्छ । ‘लामो समयदेखि बजार निरन्तर वियरिस ट्रेण्डमा थियो, अब थप तल जाने सम्भावना छैन भन्ने निष्कर्षमा लगानीकर्ता पुगेका छन्’, एक लगानीकर्ताले भने ।

राष्ट्र बैंकको बम्पर उपहार
नेपाल राष्ट्र बैंकले मासिक किस्ता बन्दी प्रकृतिको आवधिक कर्जामा कडाई गरेपछि सेयर बजारले राहत पाएको बताउनेहरुको संख्या पनि ठूलै देखिन्छ । कुल मासिक आम्दानीको कर कट्टी गरिएको रकमको ५० प्रतिशत किस्ता तिर्ने गरि मात्रै कर्जा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यसमा पनि कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिदिएको छ । यो निर्देशनसँगै व्यक्तिगत घर कर्जा र सवारी साधन कर्जाको माग ह्वात्तै घटेको छ । त्यसकै लाभ सेयर बजारले प्राप्त गर्न थालेको पण्डितहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement