बैंकमा पैसा थुप्रियो, ऋण माग्ने घटे,  राष्ट्र बैंक भन्छः त्यस्तो होइन

Advertisement

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा पैसा थुप्रिन थालेको छ र ऋण माग्नेहरुको संख्या घट्न थालेको छ । मंसिर ३० गते २९ खर्ब ९२ अर्ब निक्षेप संकलन गरेका बाणिज्य बैंकहरुले पुस १८ गते आईपुग्दा ३२ अर्बले निक्षेप बढाएर ३० खर्ब २४ अर्ब पुर्याएका छन् ।

तर यहि अवधीमा कर्जा भने जम्मा १९ अर्बले मात्रै वृद्धि भएको छ । मंसिर ३० गते २६ खर्ब ६६ अर्ब कर्जा लगानी गरेका बािणज्य बैंकहरुले पुस १८ गते आईपुग्दा जम्मा २६ खर्ब ८५ अर्ब मात्रै कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुमा नयाँ व्यवस्था अघि सारेपछि त्यसको असर कर्जा प्रवाहमा देखिन थालेको एक बाणिज्य बैंकका सिइओेले बताए । घर कर्जा र मोटर कर्जा लिनेहरुले कुल मासिक आम्दानीमा कर चुक्ता गरेको बाँकी रहेको रकमको ५० प्रतिशत मात्रै किस्ता हुने गरि ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ । त्यसमा पनि कर चुक्ता गरिएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

नागरिकहरुले नयाँ कार तथा घर किन्ने समयमा लागु गरिएको नयाँ व्यवस्थाले कर्जाको माग घटेको बाणिज्य बैंकका सिइओहरु बताउँछन् । ‘निक्षेप बढ्ने र कर्जाको माग पनि बढ्ने समयमा कर्जामा कडाई गरिएपछि बैंकमा पैसा थुप्रिन थालेको छ, यसले अर्काे वर्षको नाफामा कमी ल्याउँछ’, एक बाणिज्य बैंकका सिइओले कर्पाेरेट नेपालसँग भने ।

त्यस्तो होइनः राष्ट्र बैंक
तर नेपाल राष्ट्र बैंकले भने बैंकमा निक्षेप थुप्रिएको भन्ने कुरा सत्य नभएको बताएको छ । राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले दुई चार दिनको निक्षेप र कर्जाको अनुपातका आधारमा बैंकमा पैसा थुप्रिएको निष्कर्ष निकाल्न नहुने बताए । ‘केहि दिन वा केहि हप्ताको तथ्यांकलाई हेरेर निष्कर्ष निकाल्नु हुन्न, साउनदेखिको तथ्यांक हेरियो भने स्पष्ट हुन्छ’, डा. भट्टले कर्पाेरेट नेपालसँग भने ।

भट्टका अनुसार साउन १ गतेदेखि पुस २२ गतेसम्मको अवधीमा बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप १५१ अर्बले वृद्धि भएको छ । जबकी कर्जा २०० अर्बले बढेको छ । राष्ट्र बैंक प्रवक्ता डा. भट्टले क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको साउनपछिको निक्षेप र कर्जाको ट्रेण्डलाई हेरेर मात्रै निष्कर्ष निकालिनु उपयुक्त हुने पनि बताए ।

Advertisement

Advertisement

Advertisement