कक्षा १२ पास गरे रेलको चालक हुन पाइने

Advertisement

काठमाडौँ । नेपालको भूमि भएर विदेशी मुलुकले रेल सञ्चालन गर्न पाउने र नेपालले विदेशमा रेल चलाउने व्यवस्थासहित सरकारको तर्फबाट संसदमा विधेयक दर्ता गरिएको छ ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले संसदमा दर्ता गराएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा नेपालले विदेशी भूमिमा र विदेशीले नेपाली भूमि भएर अर्को मुलुकसम्म रेल सञ्चालन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

रेल्वे सेवाको विकास गर्न भनेर ल्याइएको विधेयकमा भनिएको छ, नेपाल सरकारले एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारिस्परिकताको आधारमा आवश्यक व्यवस्था गर्न सक्नेछ। यसका लागि सरकारले नेपालसम्म वा नेपालको भूमि भएर अर्को मुलुकसम्म रेल सेवा सञ्चालन गर्न चाहने मुलुकसँग आवश्यक व्यवस्थापन गर्ने विधेयकमा उल्लेख छ।

नेपालमा कुनै मुलुकले रेल सेवा सञ्चालन गर्न चाहेमा नेपाली कानुन लागू हुने प्रस्ताव विधेयकमा छ।

रेलको सुरक्षाका लागि छुट्टै सुरक्षा इकाई

रेलसँग सम्बन्धित सबैको सुरक्षा व्यवस्थाका लागि सरकारले रेल्वे सुरक्षा इकाई गठन गर्ने भएको छ। नेपाल रेल्वे बोर्डको आग्रहमा सरकारले ुरेल्वेको सुरक्षाका लागि छुट्टै सुरक्षा इकाई गठन गर्ने सक्नेु विधेयकमा प्रस्ताव गरिएको छ।

त्यस्तो सुरक्षा इकाई गठन नभएसम्मका लागि रेल्वेको सुरक्षा व्यवस्था नेपाल सरकार मातहतका सुरक्षा निकायले गर्नेछन्।

रेल सञ्चालनका लागि दुई निकाय

नेपालमा रेल सञ्चालनका लागि दुईवटा सरकारी संयन्त्र बन्ने भएका छन्। सरकारले तयार पारेको विधेयकमा रेल्वेसम्बन्धी सम्पूर्ण काम गर्नका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वा राज्यमन्त्रीको संयोजकत्वमा नेपालमा रेल्वे बोर्ड र सोही मन्त्रालयका सचिवको नेतृत्वमा कार्यकारी समिति गठन गर्ने प्रस्ताव गरिएको छ। नीति निर्माणसम्बन्धी काम गर्ने बोर्डमा ११ सदस्य रहनेछन् भने दैनिक काम कारबाही हेर्ने समितिमा ९ जना रहनेछन्। समितिले नीति निर्माण तर्जुमामा सहयोग गर्नेछ भने रेल्वे सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माण गर्नेछ।

मन्त्री नेतृत्वको बोर्डमा अर्थ, गृह, उद्योग, कानुन, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सदस्य रहनेछन्। साथै इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट रहनेछन्।

बोर्ड तथा कार्यकारी समितिबाट भएका निर्णय कार्यान्वयन गराउनका लागि रेल्वे प्रशासकको नियुक्ति हुनेछ। जसले बजेट तर्जुमादेखि अल्पाकालीन र दीर्घकालीन योजना र वार्षिक कार्यक्रम तयार गर्नेछ।

१२ पास गरे रेलको चालक
माध्यमिक तह (कक्षा १२) पास गरेको व्यक्ति रेलको चालकका लागि योग्य हुने विधेयकमा प्रस्ताव गरिएको छ। रेल्वे बोर्डले मान्यता दिएको प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र हुनुका साथै कम्तीमा पाँच वर्ष रेलको सहचालकको रूपमा काम गरेको पनि अनुभव हुनुपर्नेछ।

रेल चालक हुनका लागि २५ वर्ष र सहचालक हुनका लागि २० वर्ष उमेर पुगेको हुनुपर्नेछ। चालक र सहचालकलाई कुनै गम्भीर रोग नलागेको हुनुपर्नेछ।

रेल चालक र सहचालक हुन नेपाली नागरिक हुनुपर्नेछ। तर, नेपाली नागरिकबाट पदपूर्ति हुन नसकेको अवस्थामा भने विदेशी नागरिकलाई पनि करारमा नियुक्त गर्नसकिने प्रस्ताव विधेयकमा गरिएको छ।

रेलमा क्षति पुर्‍याए र कब्जा गरे १० वर्ष कैद, दुई लाख जरिवाना

रेलमा क्षति पुर्याउने वा कब्जा गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद सजायको प्रस्ताव विधेयकमा गरिएको छ। कसैले रेल्वे वा रेलमा आगो लगाउन वा विस्फोटक पदार्ध ओछ्याउन, राख्न वा कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) बनाइ आवागमनमा वा सार्वजनिक उपयोगका अन्य कुनै कुराको प्रयोगमा अवरोध पुर्‍याउन वा रेल्वेको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाइ बन्द गर्न वा कुनै किसिमबाट रेल्वे अवरुद्ध गर्ने र रेल्वे वा रेल बक्जा गरी हानी, नोक्सानी गर्नेु लाई १० वर्षसम्म कैद र दुई लाख जरिवाना हुने विधेयकमा लेखिएको छ।

रेल दुर्घटना हुने गरी लिकमा हानी पुर्याउनेलाई ७ वर्ष कैद र एक लाख रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा गरिएको छ। रेलको बत्ती झिक्ने वा निसाना बिगार्नेलाई सात वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, मादक पदार्थ प्रयोग गरेर रेल चलाएमा चालकलाई एक १ वर्ष कैद र ५० हजार जरिवाना हुने विधेयकमा लेखिएको छ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement