काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने ? भन्ने समस्या खडा भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्। ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौं,’ बुधबार उनले भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’ हाल युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।
यतिखेर युएईमा तीन लाखजति नेपाली कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ।
२०७२ पछि सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउन प्रतिबन्ध लगाएपछि श्रम स्वीकृतिबिनै नेपाली महिला तेस्रो मुलुक हुँदै युएईलगायतका खाडी मुलुक जाने गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४५ लाख पुगेको छ। रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडीका ६ मुलुक (युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया) तथा मलेसिया जाने गर्छन्।
विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये यतिखेर कम्तीमा २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान लगाउँछन्। वैदेशिक रोजगारीमा रहेका २५ लाखमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको विभागका अधिकारीहरू बताउँछन्।
अमेरिका–इरान द्वन्द्वको असर इरान, इराक हुँदै खाडी मुलुकमा पर्ने देखिएकाले त्यहाँ कार्यरत नेपाली त्रसित बनेको कतारको दोहामा कार्यरत बाग्लुङ, बुर्तिवाङका रमेश घर्तीमगरले बताए। ‘अमेरिका र इरानबीच द्वन्द्व चर्कंदै गएपछि घरबाट पटकपटक कुनै समस्या परेको छ कि भनेर सोधपुछ भइरहेको छ,’ फोनमा उनले भने, ‘धेरैले सोधीखोजी गर्न थालेपछि यहाँ रहेका नेपाली त्रसित छन्।’