नेपालबाट निर्यात हुने पाम तेल आयातमा भारतले लगायो प्रतिबन्ध

Advertisement

काठमाडौं । भारत सरकारले नेपालबाट निर्यात हुने पाम तेल पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ। भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो ।

पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। चालू आवको पाँच महिना साउन–मंसिरमा नेपालले ११ अर्ब ५५ करोड रुपियाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ। कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो। पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपियाँ थियो । इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो।

भारतीय आयातकर्ताले पाम तेल उत्पादन हुने इन्डोनेसिया या मलेसिया जस्ता राष्ट्रबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तोकिएको थियो। नेपालले भारतमा निकासी गर्दा भन्सार लाग्दैन। त्यस कारण इन्डोनेसियाबाट पाम तेल ल्याउँदा नेपालमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ। नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार अल्पविकसित मुलुकका रुपमा नेपालले भारतीय बजारमा निकासी गर्दा भन्सार लाग्दैन। तर कुनै पनि वस्तु निकासी गर्दा नेपालमा ३० प्रतिशत गुणवत्ता अभिवृद्धि (भ्यालु एडिसन) भएको हुनुपर्छ।

३० प्रतिशत बिन्दुको भन्सार महसुलको फरकको लाभकै कारण नेपालमा इन्डोनेसियाबाट पाम आयल आयात गरेर सामान्य प्रशोधनपछि भारत पठाउने क्रमले तीव्रता पाएको हो । भारतीय व्यापार नीति २०१५–२० मा नियमन नगरुन्जेलसम्म आयातित वस्तुहरुमा एग्जिम कोड १५११९० को आयातमा प्रतिबन्ध लगाएको हो । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा पाम आयल गत वर्षको सोही अवधिको तुलनामा ७५६.१ प्रतिशतले वृद्धि भइ ११ अर्ब ५२ करोडको निर्यात भएको थियो ।

Advertisement

Advertisement

Advertisement