शिक्षामन्त्री र नारायणकाजीलाई बुझाउनुपर्छ भन्दै गिरीले मसँगै २० करोड घुस मागेः प्रसाईं

Advertisement

काठमाडौं । विराटनगरस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । गिरीले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गरिराजमणि पोखरेललाई बुझाउनुपर्ने भन्दै आफूसँग रकम मागेको प्रसाईंले खुलासा गरे । उनले भने, ‘गएको मंसिर १५ गते मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिन आयोगमा गएको थिएँ । तर, आयोगमा उपाध्यक्ष गिरीले निवेदन लिन अस्वीकार गर्नुभयो, साँझ द्वारिका होटेलमा आउन भन्नुभयो । सोही साँझ राजधानीको द्वारिका होटेलमा उहाँसँग भेट भयो । भेटमा गिरीले आफू नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलको मान्छे हुँ भन्दै उहाँहरूलाई रकम बुझाउनुपर्ने भन्दै २० करोड प्रस्ताव गर्नुभयो ।’

प्रसाईंका अनुसार आफूले १०–२० लाख दिन सक्ने भए पनि सम्पत्ति शुद्धीकरणका कारण यति धेरै पैसा दिन नसक्ने बताएको खुलासा गर्दै २० करोड नदिने भए १० प्रतिशत सेयर झापामा रहेका आफ्ना सम्धीको नाममा गरिदिन प्रस्ताव गरेको बताए ।

तर, घुस मागेको प्रमाण भने आफूसँग नरहेको प्रसाईंले स्वीकार गरे । उनका अनुसार घुस मागिएकै हो । तर माग्ने वा लिनेले प्रमाण देखाएर घुस माग्दैन र लिँदैन् । प्रसाईंले थपे, ‘मसँग घुस मागेको अडियो, भिडियो भने केही पनि छैन । कहाँ र कसरी कुरा भयो भन्नेबारे म सबैका अगाडि बसेर कुरा गर्न सक्छु । घुस मागेको होइन भनेर मसँग फेस गर्न पनि गिरीलाई म चुनौती दिन्छु ।’

चिकित्सा शिक्षा आयोग बनेपछि बी एन्ड सी कलेजको सम्बन्धन अघि बढाउन बाटो खुले पनि अवरोध गरेर घुस माग्नु आश्चर्य भएको भन्दै उनले सरकारले चिकित्सा शिक्षा ऐन जारी गर्दा उपत्यकाबाहिर मेडिकल कलेज खोल्न सकिने व्यवस्था गरेको स्मरण गराए ।

Advertisement

Advertisement

Advertisement