‘अधिकांश नेपाली कम्पनीले लिएको ‘आइएसओ सर्टिफिकेशन’ नक्कली हो'

Advertisement

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारण गर्छ । गुणस्तर र नापतौलको राष्ट्रिय मापदण्ड बनाउँछ । उद्योग धन्दा र प्रतिष्ठानहरुले आग्रह गर्दा गुणस्तरका मापदण्ड बनाईदिन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय गुणस्तरका निकायहरुसँग सम्बन्ध कायम गर्ने र गुणस्तरमा अन्तर्राष्ट्रियता कायम गराउने काम गर्छ । सोही संस्थाको अहिले नेतृत्व गरिरहेका छन् विश्वबाबु पुडासैनीले । विभागका महानिर्देशक पुडासैनी भन्छन्, ‘अहिले नेपालमा १२ वटा वस्तुमा नेपाल गुणस्तर चिन्ह अनिवार्य गरिएको छ । हामीले ती १२ वटा वस्तुहरुको गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर हेर्ने गर्छौ ।’

अन्तर्राष्ट्रिय गुणस्तर लिएको भ्रम
अहिले नेपालमा धेरै कम्पनीहरुले आइएसओ प्रमाणपत्र पाएको दावी गरिरहेको देखिन्छ । टेलिकमतर्फ इन्टरनेटशनल टेलिकम्युनिकेशन युनियन (आइटीयु) छ । उसैले गुणस्तरको मापदण्ड बनाउँछ । इलेक्ट्रिकल क्षेत्रमा आइईसी भन्ने संस्था छ । उसैले गुणस्तरका मापदण्ड बनाउँछ । यी संस्थाहरुले गुणस्तरको मापदण्ड बनाउने मात्रै हो । आफैं प्रमाणपत्र वितरण गर्न नमिल्ने पुडासैनीको भनाई छ । उनी भन्छन्, ‘यी संस्थाहरुले कुनै पनि देशका संस्थाहरुलाई मान्यता दिने हो । सदस्यता दिने हो । प्रमाणपत्र जारी गर्ने चाहीं सम्बन्धित् देशले नै हो ।’

महानिर्देशक पुडासैनीका नेपालमा आइएसओद्धारा प्रमाणित गुणस्तर चिन्ह प्राप्त गरें भनेर भ्रामक प्रचार भइरहेको छ । आइएसओले कुनै पनि प्रमाणपत्र जारी गर्दैन् । आइएसओ ९००० सर्टिफिकेशन गरिनु भनेको म्यानेजमेन्टको कुरा हो । यो सर्टिफिकेट नेपालमा जारी गर्ने अधिकार गुणस्तर तथा नापतौल विभागसँग मात्रै छ । तर यहाँ त भारत वा अन्य देशबाट मान्छे ल्याएर त्यस्तो प्रमाणपत्र लिने गरिएको देखिन्छ ।

इन्टरनेशनल एक्रिडिटेशन फोरम भन्ने संस्था छ । क्षेत्रीयस्तरमा एसिया प्यासिफिक एक्रिडिटेशन कोअपरेशन भन्ने संस्था छ । र, राष्ट्रियस्तरमा एक्रिडिटेशन बोर्ड भन्ने हुनुपर्छ । नेपालका सवालमा बोर्ड गठन नभएकाले अहिले त्यो जिम्मेवारी विभागले नै बहन गर्दै आएको छ । अहिले विभागले ९००० र १४००० सर्टिफिकेशन चाँही नेशनल इक्रिडिटेशन बोर्ड एण्ड सर्टिफिकेशन बडिज इण्डियाबाट मान्यता लिएर नेपालमा वितरण गर्दै आएको उनी बताउँछन् ।

पुडासैनी भन्छन्, ‘नेपालमा हामीले आइएसओ ९००० लगायतका सर्टिफिकेशन दिन्छौं । तर बजारमा अरु देशबाट त्यस्तो सर्टिफिकेशन लिईरहेको देखिन्छ । हालसम्म हामीले २६ वटा कम्पनीलाई मात्रै आइएसओ ९००० र आइएसओ १४००० सर्टिफिकेशन दिएका छौं । बाँकी सबै सर्टिफिकेशनहरु अबैध हुन् । बजारमा पाँच सयको हाराहारीमा आइएसओ ९००० र आइएसओ १४००० सर्टिफिेशन लिएको दावी गर्ने कम्पनीहरु छन् । ती सबै विदेशबाट आफैंले लिएका सर्टिफिकेशन हुन । त्यसलाई हामीले मान्यता दिएका छैनौं । दिँदैनौं पनि । त्यस्ता सर्टिफिकेशनहरुले बजारमा भ्रम छरिरहेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारेमा गम्भीर चासो व्यक्त गरिरहेको छ । बजारमा आएजस्तो आइएसओद्धारा प्रमाणित कम्पनी तथा सेवा भन्ने कुरा गलत हुन् ।

नेपाल गुणस्तरका ११ उत्पादन
विसं. २०४४ सालदेखि २०७६ सालसम्म आइपुग्दा विभागले २६४ वटा उद्योग र ३८४ वटा वस्तुलाई इजाजत प्रदान गरेको छ । त्यस्ता वस्तुहरुको उद्योग तथा बजारबाट नमुना संकलन गरेर ल्याबमा परीक्षण गरिन्छ । परीक्षणमा कैफियत देखिए कानुनअनुसार विभागले कारवाही गर्छ ।

अहिलेसम्म टिएमटी डण्डी, ओपीसी, पीपीसी र पिएससी सिमेन्टमा नेपाल गुणस्तर अनिवार्य गरिएको छ । त्यसबाहेक एलपीजी ग्यासँको सिलिण्डर, भल्भ, रेगुलेटर, कम्पोजिट एलपीजी सिलिण्डरमा पनि नेपाल गुणस्तर अनिवार्य छ । त्यस्तै, पीभीसी हाउस वायरिङ तार, ड्यासल ब्याट्री, जिआई पाइप र जिआई वायरमा नेपाल गुणस्तर चिन्ह अनिवार्य छ । यी वस्तुहरुले नेपाल गुणस्तर चिन्ह लिएर मात्रै बजारमा बेच्न पाउँछन् । र, एलपीजी बोटलिङ प्लान्ट र अपरेशनमा पनि नेपाल गुणस्तर अनिवार्य गरिएको पुडासैनी बताउँछन् ।

पाँच सय नमुना परीक्षणको योजना
महानिर्देशक पुडासैनीका अनुसार चालु आर्थिक वर्षमा विभागले पाँच सय वटा नमुना परीक्षण गर्ने योजना बनाएको थियो । जसमध्ये ३२५ वटा नमुना बजारबाट संकलन गरेर परीक्षण गरिसकिएको छ । उद्योगहरुबाट पनि चार सयभन्दा बढी नमुना संकलन गरेर परीक्षण गरिसकेका छौं । चालु आर्थिक वर्षभित्र पाँच सय कटाउने लक्ष्य राखेका छौं, त्यो सहजै पूरा हुने उनी बताउँछन् ।

बजारमा उपभोक्ताबाट आउने गुनासोहरुलाई समेत सम्बोधन गर्दा विभागले बार्षिक चार हजारभन्दा बढी नमुना संकलन गरेर परीक्षण गर्दै आएको छ । विभागले एक पटक उद्योगबाट र एक पटक बजारबाट नमुना संकलन गरेर परीक्षण गर्ने क्यालेण्डर नै बनाएको छ ।

चार वस्तुमा नेपाल गुणस्तर थपिँदै
अब मोटरसाइकल र स्कुटरका हेलमेट, एलपीजी रबरहुज पाइप, जिआई सीट र पीभीसी मल्टिस्ट्राण्ड केबललाई नेपाल गुणस्तर चिन्ह अनिवार्य गरिँदै छ । त्यसका लागि आफूहरुले मापदण्ड तोकेर मन्त्रालयसम्म फाइल पठाएको पुडासैनीले जानकारी दिए । मन्त्रिपरिषदले पास गरेपछि त्यो कार्यान्वयनमा आउँछ । उनी भन्छन्, ‘त्यसबाहेक कस्मेटिकका केही उत्पादन, हट प्लेटहरुलाई पनि नेपाल गुणस्तर अनिवार्य गराउनेबारे सोचिरहेका छौं ।’

अनिवार्य गुणस्तरका १२ वस्तु मात्रै ?
अधिकांश देशमा एक सय वटा जति वस्तुहरुमा गुणस्तर अनिवार्य गरिएको हुन्छ । नेपालमा मात्रै त्यस्तो संख्या एक दर्जन मात्रै पुगेको छ । पुडासैनी भन्छन, ‘हामीले प्रत्येक वर्ष ४ वटा नयाँ वस्तुमा नेपाल गुणस्तर अनिवार्य गर्ने सोच बनाएका छौं । त्यहीअनुसार मन्त्रिपरिषदले पास गरेर कार्यान्वयन गराउने हो ।’

Advertisement

Advertisement

Advertisement