अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने युवकलाई टिपरले किचेर अमानवीय तरिकाले हत्या

Advertisement

धनुषा । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोको अमानवीय ढंगले हत्या गरिएको छ । धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान उनको टिपरले किचेर हत्या गरिएको हो ।

खोलामा हुँदै आएको अवैध उत्खनन्को विरोध गरेका कारण टिपर सञ्चालकहरु महतोदेखि रुष्ट रहँदै आएकोमा शुक्रबार बिहान उनको टिपरले नै किचेर मृत्यु गर्ने काम भएको हो । मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको स्वयम प्रहरीले पनि बताएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए। साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयको भनाई छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । महतोको हत्यासँगै स्थानीय टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। महतोको शव पोस्टमार्टमका लागि जनकपुर अस्पताल पठाइएको छ ।

उनको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले हवाई फायर गरी राजमार्ग खुलाए पनि स्थानीय भने आक्रोसित भएका छन् । अवैधरुपमा भइरहेको उत्खनन्‌को विरोध गर्दा उल्टै दोषीहरुबाट निर्दोष व्यक्तिको हत्या हुनुको कारण दण्डहिनता र बढ्दो आपराधिक प्रवृत्ति भएको उनीहरुको भनाई छ ।

मृतकका परिवारले पनि आफूहरुसँग सल्लाह नगरी र मुचुल्का नगरी शव उठाएको भन्दै शवको पोस्टमार्टम गर्न दिएका छैनन्। प्रहरी पनि क्रसर उद्योगसँगै मिलेको परिवारको भनाई छ । हत्या गरिएका महतो भारतको भोपालमा इन्जिनियरिङ पढ्दै थिए ।

Advertisement

Advertisement

Advertisement