१५ हजार घुस लिने नेपाल प्रहरीका सई बिरुद्ध विशेष अदालतमा मुद्दा

,   २५ पुष २०७६, शुक्रबार, ०५:०० pm   
ciaa_akhtiyar
heli

काठमाडौँ । दुर्घटनाको क्षतिपूर्ति दिलाए बापत १५ हजार घुस लिए प्रहरी नायब निरीक्षक(सई) बिरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार धनुषा जिल्ला स्थित इलाका प्रहरी कार्यालय, यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक(सई) कालिचरण पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस मागेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमाआयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पंजियारलाई सेवाग्राहीबाट पन्ध्र हजार रुपियाँ घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा पंजियारले सेवाग्राहीलाई दुर्घटनाको रकम दिलाई दिए बापत घुस लिएको तथ्य पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय माग दाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।