'पाउरोटी खाँदै घुम्ने पर्यटक हाम्रा प्राथमिकता होइनन्, सय डलर पनि खर्च नगर्नेलाई भिसा नदिउँ'

Advertisement

काठमाडौं । काभ्रेमा जन्मिएका सन्तवीर लामा नेपाल पर्वतारोहण संघका अध्यक्ष हुन् । पाँच हजार आठसय मिटरदेखि छ हजार पाँचसय मिटर उचाईका २७ वटा हिमालको प्रवद्र्धन गर्ने संघको नेतृत्वमा उनी विगत दुई वर्षदेखि छन् ।

तेह्र वर्षको उमेरमा चप्पल लगाएर अन्नपूर्ण वेसक्याम्प पुगेको कथा सुनाउने लामा नेपाल भ्रमण वर्ष २०२० लाई नेपालले लगानी गर्ने उपयुक्त समय भएको बताउँछन् । उनको संघले बार्षिक १२ करोड रुपियाँ जति आम्दानी गर्छ र तिनै पर्वतहरुको प्रचार प्रसारमा लगानी गर्छ ।

भिजिट नेपाल २०२०


भिजिट नेपाल भनेको नेपाललाई संसारभर चिनाउने सबैभन्दा राम्रो अवसर हो । नेपालको विकास र समृद्धिको मुल संवाहक भनेको पर्यटन नै हो । त्यसको पनि मुल आधार नेपालका हिमालय हुन् । सन् १९९८, २०११ मा पनि भिजिट नेपाल गरिएको थियो । अहिले २०२० मा सुरु भएको भ्रमण वर्षले राम्रो गर्नेमा उनी आशावादी छन् ।

नेपाल भ्रमण वर्षले नेपालका चिनिएका गन्तव्यहरुको थप प्रवद्र्धन र नयाँ गन्तव्यहरुलाई स्थापित गर्ने अवसर पनि हो ।  यसैपाली २० लाख पर्यटक आउँछन कि आउँदैनन् ? भनेर प्रश्न गर्नेहरु पनि देखिएका छन् । तर लामा चाँही २० लाख पर्यटक नेपाल आउँछन भन्नेमा निश्चिन्त छन् ।

उनी भन्छन्, ‘अर्को महत्वपूर्ण कुरा भनेको नेपाल भ्रमण वर्ष २०२० फाइदा लिने समय होइन, खर्च गर्ने समय हो । प्रोमोशन गर्ने समय हो । नेपालले पूर्वाधारमा खर्च गर्ने समय हो । त्यसको प्रतिफल सन् २०२१ देखि प्राप्त हुनेछ । यो वर्षको सफलताले नेपाललाई संसारकै उत्कृष्ठ पर्यटन गन्तव्य हो भनेर स्थापित गराउन सघाउनेछ ।’

नेपालमा विभिन्न प्रकारका पर्यटक आउँछन् । उच्च हिमाल चढ्ने, पिक (पर्वत) चढ्ने, पाँच हजार आठसय मिटरसम्मका टे«किङ जाने, हेरिटेज, कल्चर, वाइल्ड लाइफमा टे«किङ जाने पर्यटक आउँछन् । त्यस्तै, नेपालमा थुप्रै किसिमका जात्रा पर्व मनाइन्छ । तिनीहरुको प्रोफाइल नै बनाउनुपर्छ भन्ने अध्यक्ष लामाको दृष्टिकोण छ । अब ‘अफ सिजन होइन, फोर सिजन’ पर्यटनको अवधारणामा काम गर्नुपर्छ भन्दै उनी संख्या मात्रै ठूलो कुरा होइन, ‘गार्भेज टुरिजम’ले केही हुन्न भन्छन् । क्वालिटी र खर्चालु पर्यटक ल्याउन प्रयास गर्नुपर्ने लामाको भनाई छ ।

एनएमएले के गर्छ ?
नेपाल पर्वतारोहण संघ अर्थात एनएमएले पाँच हजार आठसय मिटरदेखि छ हजार पाँचसय मिटर उचाईका २७ वटा हिमाल हेर्छ । यी हिमाल चढ्ने अनुमति प्रदान गर्छ । रोयल्टी संकलन गर्छ । यिनै हिमालहरुको प्रवद्र्धन पनि गर्छ । नेपालमा यस्ता हिमालको संख्या भने १७६ वटा छन् । तर संघले २७ वटा मात्रै जिम्मा पाएको छ ।

नेपालका ४१४ वटा हिमालको प्रोफाइल बनिसकेका छन् । आठ हजार मिटर अग्ला १४ मध्ये आठ वटा मात्रै नेपालमा छन् भनिएको छ । तर १४ वटै नेपालमै छन् भन्ने लामाको दावी छ । तिनलाई पहिचान मात्रै नगरिएको उनी बताउँछन् ।

कति आउँछन् २७ हिमालमा पर्यटक ?
पर्वतारोहण संघले हेर्ने २७ वटा हिमाल (पर्वत)मा बार्षिक १० देखि १५ हजारको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । यसपटक नेपाल भ्रमण वर्षका लागि १५ हजारभन्दा बढीलाई चढाउने योजना संघले बनाएको छ । नेपाल आउने एउटा विदेशी औसतमा दुई हप्ता बस्छ । औसतमा पाँच हजार डलर खर्च गरिरहेको हुन्छ ।

छाडा भए पर्यटक
अध्यक्ष लामाका अनुसार नेपाल आउन विदेशी पर्यटक पाउरोटी खाएर दिन कटाउने खालका पनि छन् । एउटा विदेशीले दैनिक एक सय रुपियाँ खर्च गरेर पनि बाँच्न सकिन्छ भनेर आर्टिकल नै लेखेका थिए । चालिस डलर तिरेर भिसा लिएर एक महिनाका लागि नेपाल छिरेपछि त्यो बीचमा उसले के खान्छ ? कहाँ सुत्छ ? कहाँ जान्छ ? भन्ने विषय नेपाल सरकारलाई जानकारी नै नहुने उनले अनुभव सुनाए ।  त्यसरी व्यक्तिगतरुपमा एक्लै आउने विदेशीले खासै पैसा खर्च नगर्ने र देशका लागि पनि केही उपलब्धि नहुने बताउँछन् ।

भुटानले दैनिक २५० डलरभन्दा कम खर्च गर्ने पर्यटकलाई भिसा दिँदैन् । नेपालले पनि त्यस्तै नियम अब बनाउनुपर्ने लामाको तर्क छ । उनी भन्छन्, ‘क्लाइम्बिङ, एक्सपिडिसन र ट्रेकिङबाहेकका क्षेत्रमा दैनिक एक सय डलरभन्दा कम खर्च गर्ने पर्यटकलाई भिसा नै दिनु हुन्न । त्यसो गरिएन भने नेपालको पर्यटन ‘गार्भेज टुरिजम’ हुन्छ ।आजका दिनमा एउटा पर्यटकले दैनिक औषत ४४।४५ डलर मात्रै खर्च गरिरहेका छन् । पाउरोटी खाएर नेपाल घुम्ने पर्यटक हामीलाई चाहिएको होइन् ।’

अब यसो गरौं
अध्यक्ष लामा संसारभरका वुद्ध धर्मावलम्बीहरुका लागि जीवनमा एक पटक लुम्बिनी जानैपर्छ भनेर प्रचार प्रसार गर्नु आवश्यक रहेको बताउँछन् । हिन्दुहरुलाई पशुपति, मुक्तिनाथ र जनकपुर जस्ता तिर्थस्थलमा जानैपर्छ भनेर प्रचार गर्नुपर्ने र हिमाल चढ्न रुचाउनेहरुले एक पटक सगरमाथाको आधार शिविरसम्म पुग्नैपर्छ भनेर अभियान चलाउनुपर्ने उनको भनाई छ ।

‘यतिले मात्रै पर्यटकलाई आकर्षित गर्न सकिन्न, त्यसका साथै पूर्वाधारमा पनि लगानी बढाउनुपर्छ । बस्नलायक होटल, रेष्टुरेन्ट चाहिन्छ । आवतजावतको राम्रो सुविधाको पनि विकास गर्नुपर्छ । भिजिट नेपाल २०२० सम्पन्न भएपछि राज्यले गुणस्तरका पर्यटक भित्र्याउन भूमिका खेल्नुपर्छ’, लामाले थपे ।

२०२० पछिको पर्यटन
नेपालले २० वर्षको बीचमा तीन पटक नेपाल भ्रमण वर्ष आयोजना गरिसकेको छ । तेस्रो पटक आयोजना भइरहेको भ्रमण बर्ष पक्कै पनि ऐतिहासिकरुपमा सफल हुने उनको आशा छ । लामा भन्छन् 'हामीले सन २०३० मा कति पर्यटक ल्याउने भनेर पूर्वाधार निर्माण र प्रचार प्रसारमा जुट्नुपर्छ । नीति र बिधि बनाउनुपर्छ ।'

सिक्किममा जनसंख्याभन्दा पाँच गुणा बढी पर्यटक आउँछन् । तिब्बतमा बार्षिक ५० लाख पर्यटक आउँछन् । नेपालमा यति धेरै हिमाल छन, तर पनि बार्षिक २० लाख पर्यटक ल्याउन पसिना चुहाएर बस्नु परिरहेको छ । यो नेपालको दुर्भाग्यलाई बदल्नुपर्ने लामाको निष्कर्ष छ ।

Advertisement

Advertisement

Advertisement