क्रसर डनको दादागिरी, लिभरले कोखमा हिर्काएर घाइते बनाएपछि टिपरले किनेर दिलिपको हत्या

Advertisement

जनकपुरधाम । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो।

चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ। उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका(१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका(९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो।

किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो।

कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना. ७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो । श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन्। राति चोरेर बालुवा गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए।

पक्राउ परेकालाई सार्वजनिक गर्दै एसपी बस्नेतले भने, ‘खोलामा टिपरले बालुवा गिट्टी चोरी गरिरहेको थाहा पाएपछि ओमप्रकाश र रोशन गए। टिपर चालकसँग केही बेर भनाभन भयो। सोही क्रममा लिभरले दाहिने कोखमा हानी घाइते बनाए। अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेको देखियो ।’

छोराको हत्यापछि चन्द्रकला देवीको आँखाबाट आँसु झर्न रोकिएको छैन। चन्द्रकलाको आँखाबाट झरेका आँसु पुच्छनेहरूको पनि आँसु रोकिएको छैन। गाउँ नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा तस्करको समूहको टिपरले किचेर शुक्रबार बिहान चन्द्रकलाका २४ वर्षीय छोरा दिलीपको हत्या भएको हो।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement