'मलाई पैसा कमाउनु छैन, तीन महिना कुर्नुस्, आमूल परिवर्तन हुन्छ'

Advertisement

काठमाडौं । मंसिर ४ गतेदेखि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा छन् उद्योगी मोतिलाल दुगड । उद्योगी व्यवसायीको पृष्ठभूमि भएका दुगडलाई निजी क्षेत्रको विश्वास जित्ने उद्देश्यले राज्यमन्त्री बनाइएको उनी आफैं बताउँछन् । मसला उद्योगी दुगडले आगामी ३ महिनाभित्रै मन्त्रालय र विभागको काम गर्ने शैलीमा व्यापक सुधार ल्याउने र निजी क्षेत्रको मनोबना उच्च पार्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।

म को हुँ ?
म पहिलेको उद्योगी मोतिलाल दुगड नै हो । म अलि एम्बिसिअस(महत्वकांक्षी) मान्छे हुँ । मैले हालसम्म सञ्चालन गरेका सबै उद्योग व्यवसाय सफल भएका छन् । मसँग काम गर्ने स्पष्ट भिजन पनि छ ।

म २०६४ सालमै संबिधान सभा सदस्य भएको मान्छे हुँ । उद्योगी व्यवसायी किन राजनीतिमा नलाग्ने भन्ने सोचेर म यता होमिएको थिएँ । मारवाडीहरु पनि किन राजनीतिमा नलाग्ने भन्ने मेरो मान्यता थियो । त्यसपछि मैले नवनेपाल निर्माण पार्टी खोलेँ । त्यसलाई एमालेमा विलय गराएँ र अहिले नेकपा नेतृत्वको सरकारमा राज्य मन्त्रीको जिम्मेवारीमा छु । मलाई त्यत्तिकै मन्त्री बनाईएको होइन, मेरो भिजन देखेर नै प्रधानमन्त्री केपी ओलीज्यूले मन्त्री बनाउनु भएको हो ।

मन्त्री बन्नेहरुको दौड र प्रतिष्पर्धा भैरहँदा म जस्तो राजनीतिमा नामै नसुनेको मान्छेलाई यो जिम्मेवारी दिईनु भनेको चानचुने कुरा होइन् । यो भनेको म प्रतिको ठूलो विश्वास हो र मैले यसलाई पूरा गर्नैपर्छ ।  मेरो अनुहार राम्रो देखेर पठाइएको होइन, पाएको चुनौतीलाई सहज ढंगले पार गर्नेछु ।

म किन आएँ यहाँ ?
मैले यहाँ भ्रष्टाचार गर्दिन र चुप लागेर पनि बस्दिन । मलाई चिन्ने मान्छेहरुलाई थाहा छ की म चुप लागेर बस्दिन । हामीलाई धेरै काम गर्ने ठाउँ छ, त्यसका लागि विल पावर र कन्फिडेन्ट मात्रै चाहिन्छ । यहाँ बसेर दुई चार वटा पेपरमा हस्ताक्षर गरेर घर जान पनि सकिन्छ, तर म यहाँ बसेर देशलाई समृद्ध बनाउन धेरै काम गर्ने सोँचमा छु ।


म उद्योगी व्यवसायी, विज्ञ, कुटनीतिज्ञ, सांसद, पत्रकार, नागरिक समाजसँग निरन्तर सम्पर्क गरिरहेको छु र यो सम्पर्कलाई अझै जारी राख्नेछु ।

पुरानाको मनोबल बढाउने, नयाँलाई आकर्षित
पुराना उद्योगीहरुको मनोबल उच्च राख्ने र नयाँ लगानीकर्ताका लागि प्रेरित गर्न भूमिका खेल्छु । त्यति मात्रै होइन, नयाँ नयाँ र क्षमतावान जनशक्ति तयार गर्न पनि भूमिका खेल्नेछु । विदेशी लगानी भित्र्याउन पनि भूमिका खेल्नेछु ।

सिंहदरबार पुग्नै सक्दैनन् उद्योगी
सिंहदरबारमा उद्योगी व्यवसायीको पहुँच नै छैन । अधिकांश उद्योगी व्यवसायी विभागहरुबाटै फर्कने गरेका छन् । धेरै उद्योगी व्यवसायी मर्कामा छन् । अब उनीहरुलाई कसैले हेर्नेवाला छैन । त्यसैले म अब आफैं उद्योग विभाग, बाणिज्य विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नापतौल तथा गुणस्तर विभागको नियमित अनुगमन जान्छु, काम गर्छु र काम गर्ने कल्चर विकास गराँउछु ।

उद्योगी व्यवसायी समृद्ध नभएसम्म देश समृद्ध हुँदैन । उद्योगी व्यवसायी असन्तुष्ट हुँदा नयाँ लगानी आउँदैन, भएको पुँजी पनि पलायन हुन्छ । उद्योग चलाउन सक्दैनन्, नाफा हुँदैन । यस्तो अवस्थामा उद्योगीहरुलाई खुसी बनाउनुपर्छ ।

राजनीतिज्ञ र कर्मचारीबीचको खाडल
राजनीतिज्ञ र कर्मचारीहरुका बीचमा ठूलो खाडल छ । त्यो खाडल नपुर्दासम्म उद्योगीहरुमा आत्मविश्वास पलाउँदैन र उनीहरुले नयाँ लगानी गर्दैनन् । हामीले लगानीको वातावरण बनाउनु पर्नेछ । स्वदेशी उद्योगीहरुको मनोबल नै बढिरहेको छैन भने विदेशी लगानी कसरी आउँछ ? एउटा लाईसेन्स लिन महिनौं लाग्छ, इआइए र ट्रेडमार्कको छुट्टै झमेला छ । म यी सबै समस्यासँग भुक्तभोगी छु, यिनलाई सुधार्ने मेरो प्रयास हुनेछ ।

हाम्रा कर्मचारी विज्ञ र जानकार छन्, काम गर्नुपर्छ भन्ने सोँच पनि उनीहरुमा देखेको छु । तर बिडम्बना नै भनौं यहाँ त काम गर्ने कल्चर नै छैन । एउटा कामलाई धेरै समय लगाउने गरिएको छ । हिजो म मेरो अफिसमा आएका फाइलहरुमा जसरी फटाफट काम गर्थेँ । आज मन्त्रालयमा आएपछि यहाँका काम पनि त्यसरी नै फटाफट सम्पन्न हुने वातावरण बनाउँछु ।

टाढा टाढाका उद्योगी व्यवसायी आफ्ना समस्या बोकेर राजधानीमा आएर बस्नु परेको छ, कुर्नु परेको छ अहिले । राजबिराज, झापा, बिराटनगर, पोखरा, बुटवल, नेपालगञ्जका उद्योगी व्यवसायी आफ्ना समस्या बोकेर काठमाडौंमा धाउनु परेपछि उनीहरुको उद्योग कसरी चल्छ ? उद्योग चलाउन त उद्योगमै समय दिनुपर्छ । काठमाडौंमा कुदेर समय कटाउनु परेपछि उद्योग त नाफामा जाँदैन । अब उनीहरुले यसरी समय खेर फाल्नु पर्दैन । अब अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिँदैछ । सकेसम्म उनीहरुले काठमाडौंमा आउनै नपरोस । आउनै परेछ भने पनि बढीमा ३ दिनभित्रै सबै काम सम्पन्न हुने व्यवस्था हामी गर्दैछौं ।

सरकारी संस्थान र उद्योगबारे
हामीसँग रहेका उद्योग र संस्थानहरु अब चाँडै नाफामा आउँछन् । हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, बुटवल धागो, नेपाल औषधी लिमिटेड, बिराटनगर जुटमिल नाफामा आउँछन् । ती संस्थानका प्रमुखहरुलाई नाफामा ल्याउन नसक्ने हो भने राजीनामा गर्नुस भनेका छौं । हामी बन्द भएका थप उद्योग वा संस्थान सञ्चालनको तयारीमा छैनौं ।

तर अहिले सञ्चालन भैरहेकाहरुका बारेमा पनि केहि गर्नैपर्ने अवस्था देखेका छौं । नाफा कमाउन सकिने उद्योग संस्थानलाई हामी आफैं चलाउँछौं । नाफा गर्न नसकिनेलाई निजीकरण गर्ने, लिजमा दिने भन्ने सोँच छ । बिरगञ्ज चिनी मिल, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखानाको जग्गा अरुले नै कब्जा गरिरहेका छन् । अब ती जग्गाहरुको खोजी गरेर थप आम्दानीको बाटोमा लाग्छौं ।

म आएपछि
म मन्त्रालयमा आएपछि लगानीको वातावरण बिग्रन दिएको छैन । यहाँ म जस्तो मान्छे अहिलेसम्म आएको थिएन । निजी क्षेत्रको समस्या बुझ्ने मान्छेका रुपमा मलाई यहाँ पठाइएको हो । सकारात्मक सोँचसहित अघि बढ्दा एउटा मान्छेले पनि धेरै काम गर्न सक्छ भन्ने प्रमाणित गर्छु । गलत काम गर्ने मान्छे कहिले पनि निडर हुन सक्दैन् । मलाई त कहिले पनि डर छैन्, मसँग केहि कुराको पनि कमी छैन् । मलाई पैसा कमाउनु वा घुस खानु छैन । मलाई यहाँ पठाउनुको पछाडी प्रधानमन्त्रीको ठूलो रणनीतिक योजना छ । नेपालमा एक जना उद्योगीलाई मन्त्री बनाईयो भनेर विदेशमा पनि राम्रो सन्देश गएको छ ।

म यहाँ आएपछि धेरै काम गरिसकेको छु । कसैले सोच्नै नसक्ने काम गरिसँके । उद्योगहरुका समस्या तुरुन्तै समाधान थालेको छु । चिनी मिल र उखु किसानको समस्या समाधान हामीले गरेको हो । चिनी मिल र उखु किसानलाई बोलाएर समाधान गरियो । मिल भएन भने किसानको उखु खपत हुँदैन । किसान भएनन् भने मिलले उखु पाउँदैनन । त्यसकारण मिलहरु पनि नाफामा जाने वातावरण बनाउन हामी लागिपरेका छौं ।

चिनी उद्योगीका लागि चिनी आयात रोक्ने र मूल्य समायोजन गर्ने माग देखियो । किसानले बक्यौता भुक्तानी खोजेका छन् । हामीले समस्या समाधान गरिदियौं । सिमेन्ट उद्योगीहरुको समस्या समाधान गरिसकेका छौं । डेडिकेटिड लाइन र ट्रङकलाइनको विवाद पनि समाधान उन्मुख भैसकेको छ । त्यसको पहल पनि हामीले नै गरेका हौं ।

इँटा उद्योगीलाई पलायन गराउन ठूलो शक्तिको चलखेल थियो । हामीले त्यसलाई नै रोक्यौं । जुत्ता उद्योगीको समस्या, हस्तकलाको समस्या पनि समाधान भैसकेका छन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा अध्यक्ष र महाप्रबन्धकका बीचमा ठूलो लडाई थियो । त्यसको पनि समाधान गरिसकेका छौं । हामीसँग जादुको छडी पक्कै पनि छैन् । हामी पनि मान्छे हौं, छडी घुमाउँदैमा काम गर्न सकिन्न । तर हामी प्रयास गर्छाै । म पनि पहिलो पटक मन्त्री बनेको हुँ, पुरानो अनुभव छैन । फेरी पनि काम गर्ने प्रयासमा छौं ।

आत्मनिर्भर उद्योगको संरक्षण
सिमेन्टमा नेपाल आत्मनिर्भर भैसकेको छ । छाला जुत्ता लगायतका क्षेत्रमा नेपाल आत्मनिर्भर हुने बाटोमा अघि बढिरहेको छ । ब्याग उद्योग छ, हस्तकलाका उत्पादन पनि हाम्रा लागि पर्याप्त छन् । यीनको संरक्षण गर्दै निर्यातसम्म गर्नुपर्ने अवस्था छ । त्यसका लागि हामी तयारी गरिरहेका छौं ।

सेज/गार्मेन्ट जोन र फुटबेयर जोनका कुरा
सेजमा आज उद्योगी व्यवसायी आकर्षित भएका छैनन । त्यसका लागि हामीले उद्योगहरुको माग अनुसार त्यसका सर्तहरु पुनरावलोकन गर्ने तयारी गरिरहेका छौं । केहि समयपछि सेजमा भरिभराउ उद्योग स्थापना हुनेछन् । त्यसको वातावरण बन्छ । गार्मेन्ट जोन र फुटवेयर जोनमा पनि काम हुन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र मार्फत निर्यातको बजार खोज्न पनि भूमिका बढाउनछौं ।

अबको ३ महिनापछि
नेपालको उद्योग प्रशासनमा पक्कै परिवर्तन हुनेछ । अबको ३ महिनापछि हेर्नु होला कि यहाँका विभागहरुको काम गर्ने तरिका सिक्न मान्छेहरु आउनेछन् । अरु मन्त्रालयहरुले हाम्रो मन्त्रालय र विभागहरुको काम गर्ने तरिकाबाट धेरै कुरा सिक्न सक्ने अवस्था बन्नेछ ।

Advertisement

Advertisement

Advertisement