माघ महिनाभित्रै कुर्था–जयनगर रेल सञ्चालनको तयारी

Advertisement

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको एक महिनापछि सञ्चालन गर्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले बताए । दुईवटा सेट खरीद गर्न लागिएकोमा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ । उनले भने, ‘सेट आइपछि नै सञ्चालनको तयारी हुनेछ ।’

रेलमार्ग निर्माण सम्पन्न भए पनि गतवर्ष वर्षाको समयमा आएको बाढीले कमला नदीको तटबन्ध भत्काउँदा झण्डै एक सय मिटर रेलमार्ग बगाएको थियो । भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्ने विभागका प्रवक्ता तथा वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भइरहेको हो । सरकारले गतवर्ष भारत सरकारसँग दुई वटा रेल सेट खरीद प्रक्रिया अघि बढाएको थियो । दुई सरकारका बीच (जि टु जि) रेल खरीद भएको प्रवक्ता चित्रकारले बताए । डिजेल इलेक्ट्रीक मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता चित्रकारले बताए ।

उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । उनले भने, ‘रेल सेटको निर्माण भइरहेकाले अहिले हामीले आँकलन गरेकोभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।’

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको प्रवक्ता चित्रकारले बताए । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै दुई सयजना कर्मचारीको प्रस्ताव गरिएको विभागले जनाएको छ । नेपालमा हाल रहेको रेल्वे कम्पनी नाम मात्रैको कम्पनी भएकाले त्यसलाई सञ्चालनमा ल्याउन कम्पनीमा रेलसम्बन्धी ज्ञान र क्षमता भएका जनशक्ति आवश्यक भएकाले प्रस्ताव गरिएको हो । हाल रेल सञ्चालनका लागि कम्पनीलाई बलियो बनाउने काम भइरहेको हो ।

रेल सञ्चालनका लागि कम्पनीमा सबै गरेर दुई सयभन्दा बढी जनशक्ति आवश्यकपर्ने विभागले बताउँदै आएको छ । एक जना प्रमुख, सञ्चालन, मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको भन्दै विभागले प्रस्ताव गरेको हो ।

रेलसम्बन्धी कानून नभइरहेको अवस्थामा सरकारले रेल्वेसम्बन्धी विधेयक अघि बढाएको छ । बिहीबार विधेयक राष्ट्रियसभामा दर्ता भएको छ । विधेयकले रेल्वे बोर्ड र कार्यकारी समितिको समेत कल्पना गरेको छ । रेल र यात्रुको सुरक्षा, चालक र सहचालकको योग्यता, अन्तरदेशीय रेलमार्गलगायतका विषय विधेयकमा समेटिएको छ । नेपालमा अहिलेसम्म रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था छैन ।

पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन भएको थियो । देशभित्रै र अन्तरदेशीय रेल सञ्चालनका लागि कतिपयमा पूर्वाधार निर्माण त कतिमा अध्ययन भइरहे पनि त्यससम्बन्धी छुट्टै कानुन छैन ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एकडेढ वर्ष पछिबाट काम शुरु भएको थियो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन ।

भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दश किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस

Advertisement

Advertisement

Advertisement