पूँजी बजारको स्थायित्वका लागि नयाँ औजार थप गर्छुः अध्यक्ष ढुङ्गाना

,   २७ पुष २०७६, आईतवार, ०६:१२ pm   
heli

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पूँजीबजारको स्थायित्वका लागि काम गर्ने बताउँदै नयाँ औजारहरु थप गर्नु पर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिहरुसँगको भेटमा उनले यस्तो कुरा बताएका हुन् । अन्योलमा रहेको कमोडिटी मार्केट सञ्चालनका लागि नयाँ लाईसेन्स दिने काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । पहिलानै सुल्झाईसक्नुपर्ने कमोडिटी मार्केटको विषय अव भने अल्झाएर नराख्ने उनले बताए ।

सोही अवसरमा नेपालमा आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए । पूँजीबजारका विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने हुदाँ जुन कुराले बजारको विकास र यससँग सम्वन्धित पक्षहरुको हित हुन्छ त्यसतर्फ ध्यान दिन अध्यक्ष ढुंगानाले आग्रह गरे ।

बोर्डका अध्यक्ष ढ्ंगानासँगको भेटमा नाफिजका अध्यक्ष सिताराम भट्टराईले पूँजीबजारका विषयमा कलम चलाउने धेरै आर्थिक पत्रकारहरु रहेकाले उनिहरुको क्षमता विकासका लागि पहल गर्न आग्रह गरे । पूँजीबजार र मुलुकका हितका निम्तिनै कलम चलाउने आर्थिक पत्रकारहरुलाई समन्वयको खाचो रहेको बताउँदै अध्यक्ष भट्टराईले बोर्डले निरन्तर सहयोग र समन्वय गर्नेमा आशाबादी रहेको बताए ।

शुक्रबारदेखि नयाँ अध्यक्षको रूपमा बोर्डको पदभार सम्हालेका ढुंगानालाई स्वागत तथा शुभकामना व्यक्त गर्न नाफिजका प्रतिनिधिहरु बोर्ड पुगेका थिए ।