नाडा पदाधिकारीले भेटे राजश्व विभागका महानिर्देशक, कर प्रणालीबारे छलफल

Advertisement

काठमाडौँ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ८ सदसिय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरसंग भेटी फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणालीबारे छलफल गरेको छ ।

उक्त भेटघाटमा विभागका महानिर्देशक कुँवरले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे । उक्त छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताए ।

सोही क्रममा  कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो पनि गरे । उनले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दे आएको नेपालले बजारको माग र आपूर्तिका आधारमा बस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरे ।

सो छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायिक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउँदै आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दै जानु पर्ने धारणा राखे ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement