ओम उप्रेतीको निःशुल्क प्राथमिक उपचार तालिम अभियान ४६ जिल्लामा पुग्यो

Advertisement

काठमाडौँ । युएईमा कार्यरत नेपाली व्यवसायी चितवन निवासी ओमप्रसाद उप्रेतीको एकल प्रयत्नमा संचालित निःशुल्क प्राथमिक उपचार तालिम नेपालका ४६ जिल्लामा सम्पन्न भएको छ ।

विदेशमा सिकेको सीप नेपाल र नेपाली जनताको सेवाको लागि निःशुल्क समर्पित गर्ने उदेश्यले २०७४ चैत १ देखि सुरु भएको यो तालिम चौथो चरणसम्म पुग्दा ३८ जिल्लामा पुगेको थियो । यसै अभियान अन्तर्गत पाँचौ चरणको तालिम पनि सम्पन्न भएको अभियन्ता उप्रेतीले जानकारी दिए ।

सो तालिम अभियानलाई युएईका विभिन्न संस्थाले संस्थागत सहयोग गरेको जनाइएको छ । युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएई, नेपाल पत्रकार महासंघ युएई लगायतका केही जिल्ला समाजले पनि संस्थागत सहयोग गरेको अभियानका समन्वयकर्ता लछुमन काफ्लेले जानकारी दिए ।

यो अभियानको पाँचौ चरणको तालिम कार्यक्रम गत जनवरी १ देखि प्रदेश नम्बर २ का सात जिल्ला र मकवानपुर साथै चितवनमा भएको थियो । विभिन्न जिल्लाहरुमा क्रियाशील सामाजि, शैक्षिक, व्यावसायिक, स्वास्थ्य संस्थाहरुलाई तालिम संयोजनका लागि आह्वान गरिएको र सबै क्षेत्रबाट उत्साहपुर्वक सहभागिता रहेको अभियानका व्यवस्थापक हेमन्त पौडेलले बताए ।

पाचौं चरणको पहिलो तालिम सप्तरी जिल्लाबाट सुरु भएको थियो । पुस १६ मा नरेन्द्र मेमोरियल पब्लिक सेकेन्डरी स्कुल, राजविराज १६ मा सम्पन्न तालिममा करिब २ सय जना प्रशिक्षार्थीहरुले सहभागिता रहेको थियो । दोस्रो दिनको तालिम सिरहाको जिल्ला समन्वय समिति हलमा सम्पन्न भएको थियो । त्यस्तै तेश्रो दिन धनुषा जिल्लामा पुस १८ सम्पन्न भएको थियो । शुभकामना प्रशिक्षण केन्द्र जनकपुर उपमहानगरपालिका ८ दस्था नगरमा भएको थियो ।

चौथो दिन महोत्तरी जिल्लामा यो तालिम आयोजना गरिएको थियो । सामुदायिक भवन, रामगोपालपुर नपा ४ मा तालिम सम्पन्न भएको हो । यसैगरी पाचौं दिन निःशुल्क प्राथमिक उपचार तालिम रौतहट जिल्लामा भएको थियो ।

पुष २० गते भएको तालिमा कर्मचारी मिलन केन्द्र, गौर बजारमा यो तालिम भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिए । यो अभियानको छैटौं दिन बारा जिल्लामा गत पुस २१,सोमबार तालिम आयोजना गरिएको थियो । बारा उद्योग वाणिज्य संघ निजगढमा तालिम सम्पन्न भएको थियो ।

अभियानको सातौं दिन अन्तरगत पुष २२ गते वीरगन्जको बि पि सी कलेज पानीटयाङ्कीमा तालिमको आरोजना गरिएको थियो । यो अभियानमा प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा पनि सञ्चालन गरिएको थियो । पुष २३ गते त्रिभुवन मावि, हेटौंडा ११, नवलपुरमा आयोजना गरिएको हो ।

तालिम अभियानको पाँचौ चरणको प्रशिक्षण अभियन्ता ओम उप्रेतीले आफ्नै गृहनगर चितवनमा आयोजना गरेका थिए । कपिया उच्च माविमा तालिम आयोजना भएको अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले बताए । गत बिहीबार सो तालिमको समापन गरिएको थियो । सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायक निखिल उप्रेती, रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्मा, निर्देशक विनोद मानन्धर लगायतका कलाकार तथा गायकगायिका उपस्थित भएका थिए ।

Advertisement

Advertisement

Advertisement