आन्दोलनमा हिँडेको भन्दै बेलायती राजदूत पक्राउ

Advertisement

तेहरान । कुटनीतिक मर्यादाविपरित सरकारविरोधी आन्दोलनमा हिँडेको भन्दै इरानले आफ्नो देशका बेलायती राजदूतलाई पक्राउ गरेको छ । युक्रेनी विमान खसालेको विरोधमा इरानीहरु सडकमा उत्रिएको बेला इरानका लागि बेलायती राजदूत रब मकेयर पनि हिँडेको इरानी सरकारी अधिकारीहरुको भनाई छ ।

इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा सरकारविरोधी प्रदर्शन भएको छ । इरानी सेनाले गत बुधबार मिसाइल प्रहार गरी युक्रेनको यात्रुवहाक विमान खसाल्दा १७६ जनाको मृत्यु भएको थियो ।

सरकारले बिमान दुर्घटनाबारे ढाँटेको भन्दै इरानीहरु सडकमा उत्रिएको बेला बेलायती राजदूत मकेयर पनि सहभागी भएपछि उनलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । मृतकको सम्झनामा आयोजित कार्यक्रम प्रदर्शनमा रुपान्तरण हुन लागेलगत्तै राजदूत मकेयरले सो कार्यक्रम छोडे पनि उनलाई पक्राउ गरिएको थियो। कपाल काट्न एउटा सैलुनमा रोकिँदा उनी पक्राउ परेका थिए। इरानी सुरक्षाकर्मीले भने बेलायती राजदूतले प्रदर्शन आयोजनाका लागि सहयोग गरेको आरोप लगाएका छन्।

एउटा ट्विट गर्दै राजदूत मकेयरले प्रदर्शनमा सहभागी भएको भन्ने आरोप अस्वीकार गरेका छन् भने बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत मकेयर पक्राउको निन्दा गरेका छन्। ‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री डोमिनिक राबले जारी गरेको एउटा विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement