निर्माण व्यवसायी महासंघको साधारण सभा माघ ३ र ४ गते, ‘नेपाल बिल्डटेक एक्स्पो’पनि हुँदै

Advertisement

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २१औँ वार्षिक साधारण सभा माघ ३ र ४ गते हुने भएको छ । भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल प्रमुख आतिथ्य तथा महासंघ सदस्य समेत रहेको अन्तर्राष्ट्रिय संस्था आइएफएडब्लूपीसीएका अध्यक्ष मोहमद अली जनाहको विशेष आतिथ्य रहने महासंघले जनाएको छ । विभिन्न उपसमिति निर्माण गरी साधारण सभाको तयारी गरिएको पत्रकार सम्मेलनमा बताइयो ।

नेपाल बिल्डटेक एक्स्पो २०२० पनि हुने
साधारण सभासँगै भक्तपुर सल्लाघारी मैदानमा महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने महासंघका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महासंघले पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत बनाउन उपयुक्त मञ्च बन्ने विश्वास लिइएको महासंघका महासचिव रोशन दाहालले बताए ।

निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु ७० हजार स्क्वायर फिट क्षेत्रफलमा एक्स्पो सञ्चालन गरिने छ । ३ दिनसम्म चल्ने यस एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

एक्स्पोको सहयोगी साझेदारहरुको रुपमा नेपालमा क्रियाशील सबै निजी संघसंस्थाहरुको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल इन्जिनियर्स एशोसियशन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस(स्काफ नेपाल), नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स(बाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स(साना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त उर्जा उत्पादन संघ र भारतको राजकोट हार्डवयर म्यानुफ्याक्चर एशोसियशन रहेका छन् ।

Advertisement

Advertisement

Advertisement