मन्त्रीभन्दा 'पावरफुल' क्रसर डन, जसले गराउँछन् जिल्लामा सिडियो र एसपीको सरुवा

Advertisement

१. सत्तारुढ दलको पहलमा नुवाकोट पुगेका एसपी सरुवा
गत वर्ष नुवाकोटका क्रसर व्यवसायीहरू गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकूलका एसपीलाई लैजान उनीहरूले सत्तारुढ नेकपा नेताहरूलाई भेटिरहेका थिए । आफूहरूको खानी र क्रसरलाई सहयोग गर्ने एसपी उनीहरू नुवाकोट लैजान चाहन्थे । उनीहरूकै रोजाइअनुसार प्रहरी प्रधान कार्यालयले एसपी कृष्णबहादुर पल्लीमगरलाई पठायो । पल्लीमगर पुगेपछि खानी र क्रसरको व्यवसाय चम्कियो, नदीको दोहन अनियन्त्रित भएको भन्दै स्थानीयको विरोध पनि चुलियो । नदीको दोहनमा प्रहरी नेतृत्वको मिलेमतोको खुलस्त भएपछि ६ महिनाभित्रै पल्लीमगरलाई झिकाउन प्रहरी प्रधान कार्यालय बाध्य भयो ।

२. क्रसरकै कारण गोरखामा सिडिओ र एसपीबीच विवाद
गत वर्ष गोरखामा बालुवा खानी तथा क्रसरकै कारण एसपी र सिडिओबीच विवाद भयो । खासमा खानी तथा क्रसर उद्योगीबाट प्राप्त आम्दानी बाँडफाँडमा उनीहरूबीच भएको विवाद बाहिर आएको थियो । सिडिओ नारायणप्रसाद भट्टराईले खानी सञ्चालकलाई संरक्षण गरेको आरोप एसपी विमल बस्नेतको थियो । सोही विवाद चर्किएपछि दुवैजनालाई गृह मन्त्रालयले सरुवा गरेको थियो । त्यसपछि पनि गोरखामा एक दर्जन खानीहरू अवैध रूपमा सञ्चालन भइरहेका छन् ।

३. क्रसरमा प्रहरीको सेयर, हेर्न जाँदा डिआइजीको मृत्यु
कतिपय जिल्लामा सिडिओ र प्रहरी अधिकारीहरूले नै आफन्तको नाममा क्रसर र खानीमा सेयर लिएका छन् । आफूले सेयर पाएको बालुवाखानीकै बारेमा बुझ्न जाँदा डिआइजी सुशील भण्डारी चढेको गाडी एक वर्षअघि मण्डन–देउपुरमा दुर्घटनाग्रस्त भएको थियो, जहाँ उनको समेत निधन भयो । त्यस्तै, डिएसपी सुकदेव खनाल काभ्रेमा कार्यरत रहँदा बेथानचोकस्थित एक क्रसर उद्योगको सेयर श्रीमतीको नाममा लिएका थिए ।

हरिया डाँडा तहसनहस, गाउँका गाउँ उठिवास
काभ्रेको पनौती नगरपालिका–२ रोसी खोलाकी ५७ वर्षीया शारदा थापा गत २७ असारको दिउँसो आँगनमा थिइन् । निरन्तरको वर्षा रोकिएको एक दिन मात्रै भएको थियो । डायमन्ड रोडा तथा ढुंगा खानी उद्योगको एक्साभेटरले आधा खनेको घरमाथिको बाघवीर डाँडोबाट ढुंगाको पहिरो खस्न थाल्यो । हेर्दाहेर्दै घरको आधा भाग पहिरोले बगाएर रोसी खोलाको बगरमा पुर्यायो । दिउँसो भएकाले उनी बल्लबल्ल बाँचिन् ।

‘भिर भत्किँदा डाँडो नै थर्किने गरी आएको आवाजले मुटु नै फुट्लाझैँ भयो । घर पहिरोले लग्यो, दिउँसो भएकाले धन्न बाँचेँ । नत्र मेरो त्यहीँ चिहान हुने थियो,’ शारदाले मंगलबार सात महिनाअघिको कहालीलाग्दो घटना नयाँ पत्रिकालाई सुनाइन् । दुई वर्षअघि डायमन्ड रोडा उद्योगले सिंगै बाघवीर डाँडो किन्यो । लगत्तै सञ्चालक दीपक भण्डारीले घरसहितको जग्गा बेच्न थापालाई दबाब दिन थाले, तर उनले मानिनन् । त्यसपछि भण्डारीले एक्साभेटर ल्याएर घरमाथिको डाँडो धमाधम खन्न थाले । त्यसको कम्पनले खल्बलिएको भिर लगातारको वर्षाले २७ असारमा भत्कियो ।

केही महिनापछि भण्डारी फेरि थापाकहाँ आए र जग्गा बेच्न पुनः धम्क्याउन थाले । ज्यान नै जोखिममा राखेर अब यहाँ बस्न उनलाई आँट आएन । केही सीप नलागेपछि बारी र घरसहितको साढे ६ रोपनी जग्गा ७५ लाख रुपैयाँमा बेचिन् । त्यो रकमले बनेपामा तीन आना जग्गा किनिन् । अहिले उनीसँग भएको सम्पत्ति त्यत्ति हो । ‘फाली बिगारेर सियो बनाएझैँ भएको छ । तीन भाइ छोरा छन् । यति सम्पत्तिले के गर्ने हुन् थाहा छैन । खानी उद्योगले मेरो त घरबार नै उठायो,’ उनले भनिन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement