तयार भयो पाँच अर्बको स्टक डिलर कम्पनी, डेढ अर्बको आईपीओ निष्काशन गरिने

Advertisement

काठमाडौं । पाँच अर्ब चुक्ता पुँजीको स्टक डिलर कम्पनी तयार भएको छ । नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनीले मिलेर ५ अर्ब चुक्ता पुँजीको स्टक लिडर कम्पनी तयार पारेका हुन् ।

कम्पनीको नाम, प्रबन्ध पत्र नियमावलीसहितका सबै काम सम्पन्न भैसकेको छ । यस अघि स्टक डिलर कम्पनीमा नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल पुनर्बीमा कम्पनी, संचय कोष लगायत अन्य संस्थानहरुको लगानी रहने भनिएको थियो । तर अन्तिममा नागरिक लगानी कोष र पुनर्बीमा कम्पनीको मात्रै लगानी रहेको कम्पनी तयार पारिएको हो ।

३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रि गर्ने योजनासहित स्थापना हुन लागेको कम्पनीमा नागरिक लगानी कोषले २ अर्ब ७० करोड रुपैयाँ लगानी रहनेछ । नेपाल पुनर्बीमा कम्पनीले ८० करोड रुपैयाँ लगानी गर्नेछ । बाँकी रहेको एक अर्ब ५० करोड रुपैयाँ भने आइपीओबाट संकलन गरिनेछ । यद्यपी केहि वर्ष भित्रै कम्पनीको पुँजी १० अर्ब कायम गराउने लक्ष्य भने अहिले नै निर्धारण गरिसकिएको छ ।

कम्पनीको नाम नागरिक स्टक डिलर लिमिटेड राखेर दर्ता प्रक्रिया अघि बढाईसकिएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्पाेरेटलाई जानकारी दिए ।

कार्यकारी निर्देशक नेपालका अनुसार आगामी एक हप्ताभित्रै कम्पनी दर्ताको प्रक्रिाय सम्पन्न भैसक्नेछ । ‘अर्थमन्त्रालय र दुबै कम्पनीको सञ्चालक समितिबाट निर्णय भैसकेको छ, अब एक हप्ताभित्रै स्टक डिलर दर्ता भैसक्नेछ, सञ्चालनमा आएपछि सेयर बजारको दिगो विकासमा ठूलै सहयोग हुनेछ’, कोषका कार्यकारी निर्देशक नेपालले कर्पाेरेट नेपालसँग भने ।

यो स्टक डिलर सेयर किनबेचको काम मात्रै गर्नेछ । ‘हामी दैनिक ३५ देखि ४० करोडको सेयर कारोबार गर्न सक्ने गरि कम्पनीलाई अघि बढाउँछौं’, नेपालले भने । उता, नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईँले पनि नेपालको पुँजी बजारमा स्थायीत्व कायम गराउन सरकारले अघि सारेको नीति अनुसार स्टक डिलर कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको बताए ।

‘पुँजी बजारलाई अर्थतन्त्रको ऐना भनियो तर त्यहि पुँजी बजवार अस्थिर भैरहँदा राम्रो सन्देश गएन, सरकारको इच्छा पनि स्टक डिलर आओस भन्ने नै थियो, हामीले प्रक्रिया अन्तिम चरणमा पुर्याईसकेका छौं’, पुनर्बीमा कम्पनीका अध्यक्ष गुरागाईँले भने ।

स्टक डिलरले बजार निरन्तर ओरालो लागेर लगानीकर्ताको मनोबल गिरेका बेला सेयर खरिद गरेर स्थिरता कायम गरिदिनेछ । त्यस्तै, बजार बढिरहेका बेला सेयर सप्लाई बढाएर बजारलाई स्थिर बनाउन भूमिका खेल्नेछ । ‘पुँजी बजारको दिगो र स्थिर विकास लागि स्टक डिलर ल्याउन लागिएको हो, अनावश्यक उतारचढावलाई रोकेर बजार प्रति विश्सनियता कायम राख्न यसले भूमिका खेल्छ’, पुनर्बीमा कम्पनीका अध्यक्ष गुरागाईँले भने ।

Advertisement

Advertisement

Advertisement