‘भवन निर्माण मापदण्ड लागू नगरे खतरा’

Advertisement

ललितपुर । निजी निवास निर्माणमा अझै ध्यान नदिए पुनः जोखिम निम्तिन सक्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६’ मा उनीहरुले महानगरपालिकाले लागू गरेको नियमानुसारको घर बनाउन आग्रह गरे ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले २०७२ सालको भूकम्पीय जोखिममा परी घर भत्किएका मानिसले अझै पनि मापदण्डअनुसारको जग्गा छाडेर घर नबनाएका हुँदा फेरि भूकम्प आउँदा धैरै मानिस हताहत हुनसक्ने बताइन् । ‘पाटनका शहरी बस्तीमा दिनानुदिन अग्ला भवन निर्माण भइरहँदा अब आउने भूकम्पले धेरै मानिसको जीवन क्षति पुर्याउने छ, पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका लागि निजी घर बनाउने जनताले भूकम्प निर्माण आचारसंहितालाई अनिवार्य लागू गर्नुपर्छ’, उनले भनिन् ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्पको सम्झना गर्दै आफूहरु त्यस बेला काठमाडौंको टुँडिखेलमा गएर रात बसेको स्मरण गरे । उनले भने, ‘त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।’ विगतमा टुँडिखेलबाट देखिने हिमाल र पहाड हाल यहाँ बनेका अग्ला घरका कारण छेकिन पुगेको गुनासो जोशीले गरे ।

ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे । यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङगणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

Advertisement

Advertisement

Advertisement