भीम रावललाई कसैले ज्यान मार्ने धम्की दिएको छैन्, दिएको भए नाम भन्नुपर्योः बास्कोटा

Advertisement

काठमाडौं । सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट नेकपा नेता भीम रावललाई कसैले पनि ज्यान मार्ने धम्की नदिएको जिकिर गरेका छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नेता रावलले ज्यान मार्ने धम्की दिनेको नाम खुलाए सरकारले कारवाही गर्ने बताए ।

रावलले एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिए । तर उनले कस्ले त्यस्तो धम्की दियो ? भन्ने कुरा चाहीं खुलाएका छैनन् । ‘लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्यो, तिमीले पनि ज्यान गुमाउँला’ भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट आफूलाई धम्की दिइएको रावलले बताएका थिए ।

मन्त्री बास्कोटाले भने, ‘रावलज्यूको ज्यान मार्ने धम्की बालुवाटारबाट आयो ? यो तपाईंलाई पत्यार लाग्छ ? कोही व्यक्ति प्रधानमन्त्रीलाई मनपर्न सक्छ । मन नपर्न पनि सक्छ । विरोध हुनसक्छ । तर ज्यान मार्ने धम्की भन्ने कुरामा कुनै सत्यता छैन। यस्तो कुरा हुँदा पनि होइन ।’

ज्यान मार्ने धम्की दिइएको भए कसले फोन गर्यो ? कुन नम्बरबाट फोन आयो ? रावलले भन्न सक्नुपर्छ भन्दै प्रधानमन्त्री पनि नेकपाकै नेता र भीम रावलसमेत नेकपाकै नेता भएकाले त्यो सम्भव नहुने प्रष्ट तर्क गरे । रावलसँग पनि सरकारी सुरक्षा फौज रहेकाले त्यो खतरा नहुने बास्कोटाको तर्क थियो ।
उनले भने, ‘उहाँको ज्यानमाथिको सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन। प्रधानमन्त्रीले तरबार बोक्नु हुन्छ र खल्तीभरी गोलीको माला बोक्नुहुन्छ भनेर सोच्नु राम्रो होइन।’

टेलिभिजन अन्तवार्तामा रावलको भनाई थियो, ‘यस्तो धम्की दिने व्यक्तिले पुष्पलालको मृत्यु भएर कम्युनिस्ट आन्दोलन र देशभक्तिपूर्ण आवाज हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ। मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगा हत्या गरेर उनकाका देशभक्तिपूर्ण आवाजहरु नेपाली धर्तीबाट छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्छ।’ साथै उनले उक्त धम्कीबाट आफू नडराएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement