जाँगर र सीप चाहिन्छः पैसा कमाउन कहीँ जानुपर्दैन

Advertisement

पाल्पा । काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए । पसिना बगाए ।

उनलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाले । उनी दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किए ।

उनले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बनाए । व्यवसाय शुरु गरे । उनले भने, ‘गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा रु पाँचलाख आम्दानी लिएँ ।’ घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उनी वैदेशिक रोजगारमा होमिएका थिए । ‘विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छ’, उनले अनुभव सुनाउँदै भने ।

उनको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गरेका उनले भने, ‘सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिएको छु ।’ पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ ।

नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी रु तीन लाख ऋण सहयोगसमेत गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउँछन् । ‘विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ, उनले भने ।

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् । विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement