अमेरिकी राजदूतको फरक तर्क– नेपालमा भ्रष्टाचार घट्यो, त्यही भएर एमसीसीको अनुदान दिएको हो

Advertisement

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न गर्ने नगर्ने विषयको विवाद उत्कर्समा पुगेको बेला नेपालस्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट (सम्झौता)अन्तर्गत प्राप्त हुने अनुदान सदुपयोग गर्नेबारे तालिम सम्पन्न गरेको छ ।

एमसीसीबाट नेपाल कम्प्याक्टअन्तर्गत प्राप्त अनुदान सहायताको कार्यान्वयनका क्रममा जालसाजी तथा भ्रष्टाचार हुन नदिन सम्बन्धित जोखिम पहिचान, रोकथाम तथा समाधानसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धिको उद्देश्यसहित मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) का कर्मचारीहरूका लागि तालिम सञ्चालन गरिएको हो ।

जालसाजी तथा भ्रष्टाचार नियन्त्रण प्रशिक्षण माघ १ देखि ३ गतेसम्म आयोजना गरिएको थियो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रशिक्षणको उद्घाटन गरेका थिए । उनले नेपालमा भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दावी गर्दै यस दिशामा प्राप्त सफलताले नेपाललाई एमसीसी कम्प्याक्टका लागि योग्य बनाउनमा एक सूचकका रूपमा काम गरेको तर्क गरे ।

राजदूत बेरीले अमेरिकी सहयोग अन्तर्गत कार्यान्वयन गर्न लागिएका आयोजनाहरू जालसाजी तथा भ्रष्टाचारमुक्त वातावरणमा सम्पन्न हुनेमा विश्वास पनि व्यक्त गरे ।

अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपालले नेपाल सरकार सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै देशमा आर्थिक वृद्धि सुनिश्चित गर्नका लागि भ्रष्टाचारमुक्त कार्य वातावरण महत्वपूर्ण भएको बताए ।

तीन दिने प्रशिक्षणमा एमसीसीका वरिष्ठ भ्रष्टाचार नियन्त्रण सल्लाहकार रिचार्ड मेस्सिकले एमसीसीको जालसाजी तथा भ्रष्टाचार नियन्त्रण नीतिबारे जानकारी दिएका थिए । एमसीसीका वरिष्ठ भ्रष्टाचार नियन्त्रण निर्देशक क्रिस्टोफर पि. विलियम्सले कार्यक्रम कार्यान्वयनका क्रममा हुनसक्ने जालसाजी तथा भ्रष्टाचारसम्बन्धी जोखिम न्यूनीकरणसम्बन्धी उपायहरूबारे जानकारी दिए ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा एमसीसीका नेपालस्थित आवासीय राष्ट्रिय निर्देशक ट्रोय ई. कोफ्रोथ पनि उक्त कार्यक्रममा सहभागी थिए । एमसीए–नेपालका कर्मचारीहरूले आफ्ना दैनिक क्रियाकलापमा सधैँ नैतिक व्यवहार अपनाउने तथा निष्ठा र जिम्मेवारीपनाका महत्वलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेको एमसीए नेपालको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement