गैरआवासीय नेपाली संघले सरकारलाई भन्यो- हामीले सम्मेलन गर्न लाग्याछौं, सहयोग चाहियो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । अध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलन सफल पार्न सहयोगका लागि आग्रह गरेका हो ।

यसैबीच, संघ अगुवाहरुले सचिवहरुसँग समेत विज्ञ सम्मेलनको तयारीबारे छलफल गरेका छन् । परराष्ट्रय मन्त्रालयका सचिव शंकरदास वैरागीको संयोजनमा सम्पन्न बैठकमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयका करिब दुई दर्जन सचिव तथा सहसचिवहरु सहभागी रहेको संघले जनाएको छ ।

बैठकमा विदेशमा बसेका नेपालीले सिकेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने सन्दर्भमा छलफल भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
त्यसअवसरमा एनआरएनए महासचिव हेमराज शर्माले दोस्रो विज्ञ सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

पहिलो विज्ञ सम्मेलनबाट प्राप्त सुझावका आधारमा दोस्रो विज्ञ सम्मेलनलाई कसरी अझै व्यवस्थित र उपलब्धिमुलक बनाउन सकिन्छ ? भन्नेमा आफूहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।

बैठकमा सहभागी सरकारी अधिकारीहरुले विज्ञ सम्मेलनका उपलव्धिहरुलाई कसरी व्यवहारिक रुपमा लागू गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रीत हुनुपर्ने धारणा राखेको जनाइएको छ । उनीहरुले नेपालमा जलविद्युत, शिक्षा, स्वास्थ्य र बाँझो भूमी लगायतका क्षेत्रमा विज्ञहरुको भूमिका आवश्यक रहेको उनीहरुको भनार्इ थियो ।

विदेशमा नेपालीहरुले सिकेको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन संघ र नेपाल सरकारबीच स्थायी संरचना निर्माण गरिनुपर्ने आवश्यकता बैठकका सहभागीले औंल्याएका थिए । संघले आगामी अक्टोबरमा दोस्रो विश्व विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।

त्यसअवसरमा मन्त्री ज्ञवालीले संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलन सफल बनाउन नेपाल सरकारले हरतरहले सहयोग तथा सहजिकरण गर्ने आश्वासन दिएका छन् । छलफलमा संघ अध्यक्ष पन्तसँगै उपाध्यक्ष बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसीलगायत सहभागी थिए ।

यसैबीच, गैरआवासीय नेपाली संघको दुई दिने बैठक शनिबारदेखि पोखरामा शुरु हुँदैछ । बैठकमा भाग लिन संघका पदाधिकारी शुक्रवार साँझ नै पोखरा पुगिसकेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement