'जताबाट हेरे पनि प्राइम लाइफ इन्स्योरेन्स एक नम्बरमै छ'

Advertisement

काठमाडौं । ‘जीवन अमुल्य छ, संसारका हरेक वस्तुको मूल्य छ तर जीवनको मूल्य हुन्न । मानव जीवनको मूल्य आफैंले तोक्ने हो । म कुन हैसियत र क्षमताको मान्छे हुँ ? भन्ने कुरालाई मौद्रिक मूल्यमा ढाल्नुपर्छ । र त्यो भनेको जीवन बीमा नै हो । आर्थिक क्षमता अनुसार जीवन बीमा गर्नुपर्छ । आफ्नो जीवनको मूल्य तोकेर अमूल्य बनिरहनुपर्छ ।’, यो भनाई हो प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए उतिर्ण गरेका भट्टराईले त्यहिँ लेखा अधिकृतका रुपमा करिअर आरम्भ गरेका थिए । त्यसमा चित्त नबुझेपनि उनी बैंकिङ क्षेत्रमा आए । २० वर्ष एनआईडीसी डेभलपमेन्ट बैंकमा काम गरेका भट्टराईले स्वेच्छिक अवकास लिएर संयुक्त राष्ट्र संघको प्रोजेक्टमा २ वर्ष काम गर्न भ्याए ।

त्यसपछि उनी नेपाल लाइफमा सिनियर मेनेजरका रुपमा काम गर्न थाले । फेरी डिएफआइडीमा केहि समय काम गरे । त्यसपछि बजारमा नयाँ बीमा कम्पनी आए र नेपाल लाइफको सिइओ पद रिक्त भयो । ‘सिनियर मेनेजरबाट जागिर छोडेको थिएँ तर सिइओ बन्ने अवसर पाएँ । त्यहाँ साढे ३ वर्ष जति काम गरियो ।’, भट्टराइले सुनाए । नेपाल लाइफको सिइओ छोडेर उनी ग्राण्ड बैंक(पहिले डिसिबिएल थियो)मा जनरल मेनेजेर बन्न पुगे । र हाल उनी पछिल्लो साढे पाँच वर्षदेखि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिइओको जिम्मेवारीमा छन् ।

अर्थतन्त्र र बीमा बजार
मुलुकको अर्थतन्त्रको आकार १७ खर्बको हुँदा जीवन बीमा कम्पनीहरुको संख्या ९ वटा मात्रै थियो । १७ वटा निर्जीवन बीमा कम्पनी थिए । त्यतिबेला जीडीपीमा बीमा क्षेत्रको योगदान ०.७ प्रतिशत मात्रै थियो । आज अर्थतन्त्र ३३ खर्बको पुगेको छ । बीमा कम्पनीको संख्या जीवन बीमा तर्फ १९ वटा र निर्जीवन बीमा तर्फ २० वटा पुगिसकेको छ । पुनर्बीमा कम्पनी पनि थपिएको छ । गत आर्थिक वर्षमा जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीको बीमा शुल्क एक खर्ब नाघेको छ ।

यसरी हेर्दा बीमा क्षेत्रले जीडीपीमा २.४५ प्रतिशत योगदान दिएको देखिन्छ । यो अवधीमा अर्थतन्त्रको आकार दुईगुणा बढ्दा बीमाको योगदान ३ गुणा वृद्धि भएको देखिन्छ । अर्थात पछिल्लो समयमा बीमा बजार चलायमान भएको प्रमाणित हुन्छ । २०७२ सालको भूकम्पले बीमा क्षेत्रमा नयाँ जागरण ल्याएको हो । त्यसपछि अण्डर इन्स्योरेन्सको अवस्थामा सुधार भयो । बैंकको कर्जाको मात्रै बीमा गर्ने परिपाटी थियो, त्यसमा परिवर्तन भएर पुरै सम्पतिको बीमा गराउने सोँच स्थापित हुन थाल्यो ।

सिंगल प्रिमियमको दौड
अहिले बीमा बजारमा तिब्र प्रतिष्पर्धा छ । नयाँ बीमा कम्पनीहरु आएपछि सिंगल प्रिमियमका पोलिसीहरु बेच्ने क्रम बढेको छ । त्यसैले बीमा कम्पनीहरुको प्रिमियम ह्वात्तै बढेको देखिन्छ । तर गुणस्तरको सवालमा के भयो भन्ने पक्ष भने अझै सुक्ष्म रुपमा हेरिएको देखिन्न ।
सिंगल प्रिमियम संकलन गर्ने पोलिसीलाई बीमाको मुल सिद्धान्त विपरिद मानिन्छ । बीमको सिद्धान्त भनेको थोरै थोरै रकम जम्मा गरेर जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नु हो । तर आजकल एकै पटक प्रिमियम संकलन गरेर मुद्धति खातामा पैसा राखे जसरी बीमा गर्न थालिएको छ । ‘२० वर्षसम्मको प्रिमियम एकै पटक तिरेर बीमा गर्नुस्’ भन्न थालिएको छ । अब नियामकले बार्षिक, अर्ध बार्षिक, त्रैमासिक र मासिक बीमा शुल्क कुन कम्पनीले कति कति मात्रामा संकलन गरेका छन् भन्ने तथ्य खोज्नुपर्छ । यसमा बीमा समितिको बिशेष ध्यान जान जरुरी छ ।

पहुँचका कुरा
आज बीमाको पहुँच २० प्रतिशत नाघेको विवरण सार्वजनिक गर्न थाालिएको छ । यो तथ्यांकलाई गहन ढंगले अध्ययन गर्नुपर्छ । नयाँ मान्छे हत्तपत्त बीमामा प्रवेश गर्दैनन् । तर जसले एउटा बीमा पोलिसी खरिद गर्छ, उसले फेरी पनि अर्काे बीमा पोलिसी खरिद गर्न सक्छ । उसले आफ्नो आम्दानीले भ्याएसम्म अर्काे पोलिसी पनि खरिद गर्छ । यतिबेला बीमा पोलिसी बिक्रि भएको संख्यालाई देखाएर बीमाको पहुँचलाई गणना गरिएको जस्तो देखिन्छ । बिक्रि भएको पोलिसी संख्या भन्दा पोलिसी खरिद गर्ने व्यक्तिहरुको आंकडा निकाल्नुपर्छ । कति नागरिकले बीमा पोलिसी खरिद गरेका छन् भन्ने तथ्यांक निकालेपछि मात्रै बीमा पहुँचको अवस्था एकिन हुन्छ ।

तानातानको श्रृंखला
बीमा बजारमा नयाँ कम्पनीहरु आएपछि केहि समय कर्मचारी र अभिकर्ताहरु तानातानको श्रृंखला पनि देखियो । अभिकर्ताले पनि बीमित तानातान गरिरहे । तानातानका कारण बीमा पोलिसी बेच्दा पनि लटरपटर गरेका हुन सक्छन् । त्यसमा पनि बीमा कम्पनी र नियामकले सचेतता अपनाउनुपर्छ । नत्र बीमा प्रतिको विश्वसनियतामै प्रश्न उठ्न सक्छ ।

बीमितका प्राथमिकता
एउटा नागरिकले बीमा गर्नु अघि पोलिसीको जोखिम बहन गर्ने बिशेषता, फिचर र आफ्नो क्रय शक्ति हेर्नु पर्छ । बीमाको पहिलो प्राथमिकता सुरक्षा अर्थात जोखिम वहन हो । तर बजारले लगानी र लाभ हेर्ने बानी पारेको छ । कुन पोलिसी खरिद गर्दा अधिकतम जोखिम हस्तान्तरण हुन्छ भन्ने कुरा गौण बनेको जस्तो देखिन्छ । कुन पोलिसी खरिद गर्दा धेरै बोनस आउँछ भन्ने कोणबाट हेर्न थालिलएको छ । जुन बीमा क्षेत्रका लागि सकारात्मक पक्ष होइन् ।

लगानीका लागि बीमा भन्दा आकर्षक क्षेत्र अरु धेरै छन् । आजका दिनमा ५० लाखको सामान्य प्रडक्ट लिने हो भने बार्षिक ४ लाख जति प्रिमियम तिर्नुपर्छ । अरु ठाउँमा लगानी गर्दा ५० लाखको जोखिम बोक्दैन् । तर प्रतिफल चाँही बीमाको भन्दा धेरै आउँछ । त्यसकारण बीमामा पहिलो कुरा भनेको जोखिम वहन हो र दोश्रो मात्रै लगानी हो ।

अरु क्षेत्रमा लगानी गर्दा एकै पटक पुरै पैसा तिर्नुपर्छ । तर बीमा किन्दा किस्तामा पैसा तिर्न पाइन्छ । आजका दिनमा ५२ प्रतिशत नेपाली नागरिक आर्थिक रुपमा सक्रिय छन् । उनीहरुले ७ हजार रुपैयाँ तिरेर २५ लाखको बीमा गर्न सक्छन् । ३ हजार प्रिमियममा १० लाखको बीमा गर्न सक्छन् । अर्थात हरेक नेपालीले आ आफ्नो आर्थिक अवस्था अनुसार बीमा गराउन सक्ने अवस्था निर्माण भैसकेको छ ।

अमेरिकी साथीको सोँच
मलाई एक जना अमेरिकी साथीले सोधे, ‘तेरो कम्पनीले जम्मा ५ प्रतिशत मात्रै प्रतिफल दिने रहेछ, त्यो भन्दा धेरै त बैंकमा राख्दा पाइन्छ नी ।’ मैले उसलाई जवाफ दिए, ‘तिमिले बैंकमा पैसा राख्दा एकमुष्ठ बुझाउनुपर्छ, बीमा गर्दा थोरै थोरै पैसा तिर्दा हुन्छ । त्यसले जोखिम पनि बोक्छ र प्रतिफल पनि आउँछ ।’ मेरो अमेरिकन साथीको सोँचलाई हेर्दा स्पष्ट हुन्छ की आज बीमालाई लगानीका रुपमा मात्रै हेर्न थालिएको छ । यसले गलत सन्देश दिईरहेको छ ।

नियामकका कुरा
बीमामा ‘मिस सेलिङ’ भैरहेको छ । त्यसलाई रोक्न नियामकले भूमिका खेल्नुपर्छ । अहिले सिंगल प्रिमियम पोलिसी बेच्ने लहड नै चलिरहेको छ । म फेरी पनि भन्छु,–‘त्यो बीमा नै होइन् ।’ अब बीमा समितिले आफ्नो भूमिकालाई थप व्यवस्थित बनाउनुपर्छ । सुक्ष्म नियमन गर्नुपर्छ ।

सिंगल प्रिमियमका दुःख
५० लाख रुपैयाँको सिंगल प्रिमियम तिरेर बीमा गर्दा छुटसहित ४५ लाख एकै पटकमा तिर्नु पर्छ । आजका दिनमा बैंकहरुले मुद्धति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिईरहेका छन् । त्यहि ५० लाख रुपैयाँ बैंकमा राख्ने हो भने बैंकले ९.५ प्रतिशत ब्याज दिन्छन् । त्यसबाट बार्षिक ४.५ लाख रुपैयाँ ब्याज आम्दानी हुन्छ । त्यहि ब्याजको पैसाले ७५ लाखको बीमा पोलिसी खरिद गर्न सकिन्छ । त्यो ७५ लाखको बीमाको बार्षिक ४ प्रतिशत मात्रै बोनस आएछ भने पनि बर्षको २ लाख रुपैयाँ अतिरिक्त आम्दानी हुन्छ ।

२० वर्षमा ४० लाख बोनस, ५० लाख नगद भुक्तानी पाइन्छ । आफ्नो मुल ५० लाख रुपैयाँ त बैंकमा बाँकी नै हुन्छ । त्यसरी हेर्दा एक करोड ४० लाख रुपैयाँ आम्दानी हुन्छ । यस्तो अवसर छोडेर ५० लाखको सिंगल प्रिमियमको बीमा गर्नेहरु पनि यतिबेला भेटिन्छन् । वास्तवमा यहाँ भित्र ठूलो खेल छ । यस्ता पोलिसी लिनेहरुलाई केहि दिनभित्रै ऋण लिन पाइन्छ भनिएको छ । अनि बीमितकै पैसा लिएर बिमितलाई नै ऋण दिएर उसैसँग ब्याज लिने काम भैरहेको छ । आजका दिनमा ५० लाख बुझाउन सक्ने मान्छेले यो तथ्य बुझेको दिन बीमा प्रतिको विश्वसनियता गुमाउँछ । यस्तै कुराले बीमा प्रतिको विश्वसनियता घटाईरहेको छ ।

म र प्राइम
मेरो काम गर्ने शैली भनेको दिर्घकालिन प्रकृतिको हो । म तत्कालका लागि केहि सोच्दिन् । म एउटा निश्चित लक्ष्य बोकेर आएको छु, त्यो पुरा गर्नेछु ।  बीमा क्षेत्रमा यतिबेला अस्वस्थ प्रतिष्पर्धा देखिएको छ । यहाँ कछुवा र खरायोको जस्तै दौड छ । म खरायो बन्ने अभियानमा छैन् । म यो दौडको कछुवा नै हुँ । कम्पनीलाई प्रणालीमा चलाउनुपर्छ भन्ने मेरो मूल मान्यता हो ।

हामीले एजेन्टहरुलाई तहगत व्यवस्था गरिदिएका छौं । एजेन्टहरुको एक तह मात्रै बनाएका छौं । एजेन्सी मेनेजरको तल एक जना मात्रै एजेन्ट हुन्छ । अरु कम्पनीमा एउटा एजेन्सी मेनेजरका तल कमिसन खाने थुप्रै तह हुन्छन् । हामी कहाँ एक तह मात्रै छ ।

प्राइमः जताबाट हेरेपनि एक नम्बर
म दावीका साथ भन्न सक्छु, ‘आजका दिनमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एक नम्बरमै छ ।’ मेरो दावीका केहि आधारहरु छन् । जस्तो की सम्पति दायित्व, व्यवस्थापन र व्यवसायको मूल्यांकन(अडिट) गर्ने हो भने प्राइम लाइफ एक नम्बरको कम्पनी हो ।

बीमा कम्पनीको मूल्यांकनमा बीमा शुल्क, प्रतिफल, आन्तरिक व्यवस्थापन प्रणाली पनि हेर्नु पर्छ । अर्काे महत्वपूर्ण कुरा भनेको प्राइम लाइफले जति पैसा खर्च गरेर जुन आकारको बिजनेश ल्याएको छ, अर्काे कम्पनीले त्यति नै पैसा खर्च गरेर कति बिजनेश ल्याईरहेको छ ? यो पनि मूल्यांकनको पाटो हुनुपर्छ । म दावीका साथ भन्न सक्छु की, ‘प्राइम लाइफको व्यवस्थापन खर्च साह्रै कम छ ।’

नियामकले लागु गरेको नियम पालनाको कुरामा पनि हामी अब्बल छौं । मैले एचआर(जनशक्ति) समेत अडिट गराएको छु । सञ्चालक समितिले गरेका निर्णय र त्यसको कार्यान्वयनको अनुगमन गरियो भने पनि हाम्रो दक्षता प्रकट हुन्छ ।

मुनाफा कै कुरा गर्ने हो भने पनि ६० अर्ब लगानी गर्नेे कम्पनीले ४।६ अर्ब नाफा कमाउनु त स्वभाविक नै हो । १२ अर्ब लगानी गर्ने प्राइमले १ अर्ब ६० करोड नाफा कमाउनु झनै राम्रो हो । त्यसकारण लगानीको आधारमा त हामीले गरेको आम्दानी नै राम्रो हो । प्रति सेयर आम्दानीका आधारमा आजका दिनमा प्राइम लाइफ सबै भन्दा अब्बल छ । त्यसकारण प्राइम लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ठ र एक नम्बरको कम्पनी हो ।

बजार सञ्जाल
प्राइमसँग ३३ शाखा र १२२ वटा उपशाखा तथा सम्पर्क कार्यालय छन् । बीमितको संख्या साढे ४ लाख पुगेको छ । म्यादी बीमा बाहेक नै एक लाख ७५ हजारको आसपासमा बीमित छन् । नयाँ बीमितहरुको आगमन दर १५ देखि २० प्रतिशतको हाराहारीमा देखिन्छ । यो वृद्धिदरलाई अझै बढाउन पनि सकिन्छ । तर आज जुन दरमा बजार बढेको छ, त्यहि वृद्धिदरलाई कायम गराउन सक्नुपर्छ । त्यसकारण धेरै एग्रेशिभ नहुनु राम्रो जस्तो लाग्छ । ग्रोथ भनेको जहिले पनि निरन्तर भैरहने खालको हुनुपर्छ ।

७ हजार जति सक्रिय अभिकर्ता(एजेन्ट) छन् । हामी सक्रिय एजेन्टको मात्रै लाइसेन्स नविकरण गर्छाै । वर्षमा एउटा पोलिसी पनि ल्याउन नसक्नेहरुको लाइसेन्स नविकरण हुन्न । कर्मचारीको संख्या ३७६ जना पुगेको छ । र उनीहरुको कार्य क्षमतामा बीमा उद्योग कै अब्बल छ ।

अद्धितिय ‘जीवन उपहार’
प्राइम लाइफसँग ‘जीवन उपहार’ नामको अद्धितिय प्रडक्ट छ । यो प्रडक्टले बजारमा तहल्का नै मच्चाएको छ । आज कसैले २५ लाखको प्रडक्ट किनेको छ भने अर्काे वर्ष यहि दिन प्रिमियम तिर्न आउँदा उसलाई अर्काे २५ लाखको नयाँ प्रडक्ट सित्तैमा दिन्छौं उपहार स्वरुप । यी दुबै पोलिसीले बोनस दिन्छन् । पहिलो पोलिसीको प्रिमियम तिरिरहँदा दोश्रो पोलिसी आफैं नविकरण भैरहन्छ । यस्तो प्रडक्ट बजारमा कसैसँग पनि छैन् ।

३५ वर्षको मान्छेले प्राइम सरल बीमा १५ वर्षका लागि खरिद गर्यो भने उसलाई प्रति हजार ६८ रुपैयाँ प्रिमियम तिराइन्छ । जीवन उपहारमा भने बीमितसँग प्रति हजार ९२ रुपैयाँ लिइन्छ । अर्थात यसमा २४ रुपैयाँ बढी प्रिमियम असुलिन्छ । तर २४ रुपैयाँले प्रति हजार रुपैयाँको पोलिसी दिन्छौं । डेढ वर्षको अवधीमा यो प्रडक्टको बजार हिस्सा व्यापक बढेको छ । मंसिरसम्म कुल प्रिमियममा यसको हिस्सा ४१ प्रतिशत पुगिसकेको छ । प्राइम लाइफसँग यतिबेला १६ वटा प्रडक्ट छन् । तिमध्ये १५ वटा प्रडक्टको हिस्सा ६१ प्रतिशत छ भने जीवन उपहारको हिस्सा ४१ प्रतिशत छ । मलाई विश्वास छ, केहि समयभित्रै यसको हिस्सा ६० प्रतिशत नाघ्नेछ ।

एचआइभी संक्रमितका लागि छुट्टै प्रडक्ट
यो देशमा १६ हजार भन्दा बढी मानिस सूचिकृत एचआइभी संक्रमित रहेछन् । उनीहरुकै माग बमोजिम हामीले बीमा पोलिसी ल्याएका छौं । त्यसका लागि उनीहरुले आफुले खानुपर्ने औषधी भने नियमित सेवन गरेको हुनुपर्छ । यस्तो पोलिसीका लागि पनि सामान्य प्रिमियम नै कायम गरेका छौं ।

साहुलाई प्रतिफल
मैले आज भन्दा २ वर्ष अघि नै आगामी पाँच वर्षसम्म न्युनतम १२ प्रतिशत प्रतिफल दिन्छु भनेको थिएँ । पुँजी वृद्धिको योजना आएपछि २ अर्ब पुँजी पुगेको दिनदेखि न्युनतम १० प्रतिशत प्रतिफल सुनिश्चित गरिदिन्छु भनेँ ।

म आउँदा कम्पनीको पुँजी ४८ करोड १८ लाख मात्रै थियो । आज २ अर्ब ७९ लाख पुँजी पुगेको छ । आजका दिनमा अर्काे चार वर्षका लागि दुई अंकको प्रतिफल दिन पुग्ने पैसा रिजर्भमा राखिदिएको छु । अझै ३ वर्षको मुनाफा आउनै बाँकी छ । त्यतिबेला झनै प्रतिफल बढाउन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement