प्रचण्डको लाइनविपरित नारायणकाजीको अभिव्यक्ति– ‘तुम्बाहाम्फेले अडान लिएर ठिक गरिन’

Advertisement

पर्वत । नेकपाभित्र पुष्पकमल दाहाल पक्षधर नेताको रुपमा चिनिएका नारायणकाजी श्रेष्ठले प्रचण्डको लाइनविपरित उपसभामुख शिवमाया तुम्बाहाम्फेको अडानको समर्थन गरेका छन् । कुश्मामा आयोजित पत्रकार सम्मेलनमा उनले तुम्बाहाम्फेको अडान ठिक रहेको बताउँदै राजीनामा गर्नु जरुरी नरहेको बताएका हुन् ।

सभामुख नियुक्तिमा दावी गर्दै केपी ओली र प्रचण्ड पक्षधरबीच तिक्तता बढिरहेको बेला लामो समयदेखि संसद बैठकसमेत बस्न सकेको छैन् । नेकपामा पूर्वएमाले पक्षधर नेताहरु सकेसम्म सुवाश नेम्वाङ नभएर तुम्बाहाम्फेलाई सभामुख बनाउन चाहान्छन् भने प्रचण्ड पक्षधर नेताहरु भागबण्डाअनुसार सभामुख आफूहरुको भागमा परेकाले पूर्वमाओवादीबाटै हुनुपर्ने अडानमा छन् ।

तर पूर्वमाओवादी नेता भए पनि नारायणकाजीले भने ओलीको लाइनअनुसार अभिव्यक्ति दिएपछि प्रचण्ड समूहमा पनि बिखण्डन सुरु भएको महशुस गर्न सकिन्छ । प्रचण्डका निकै विश्वासपात्र व्यक्तिका रुमपा चिनिएका बि एण्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपियाँ घुस मागेको र गिरीले उक्त पैसा नेकपाका नेता नारयाणकाजी र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि बुझाउनुपर्छ भनेको कुरा खुलासा गरेसँगै नारायणकाजी र प्रचण्डबीच तिक्तता बढ्दो रहेको देखाएको थियो । ओलीले नारायणकाजीलाई पार्टीको प्रवक्ता बनाएपछि नै प्रचण्ड नाराणकाजीप्रति सशंकित भएका थिए ।

कुश्माको पत्रकार सम्मेलनमा तुम्बाहाम्फेको अडानलाई समर्थन जनाएका नेता नारायणकाजीले सभामुखको गाठो केही दिनमा फुक्ने बताएका छन् । उनले सभामुख पूर्वएमाले वा पूर्वमाओवादीले लिने भन्ने कुरा नभएको तर्क गर्दै सभामुख पद वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिँदा न्याय हुने बताए ।

उनले भने, ‘महिला त हुँदै हो, उपसभामुखज्यु विद्धान हुनुहुन्छ, कानुनको ज्ञाता हुनुहुन्छ, सक्षम हुनुहुन्छ, त्यसैले उहाँ हुँदा कुनै फरक पर्दैन ।’

Advertisement

Advertisement

Advertisement